काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले संसद् पुन:स्थापना गर्न लागेपछि प्रधानमन्त्री केपी शर्मा ओली आत्तिएको बताएका छन् । नेपाल प्रेस युनियन सुनसरीले आज गरेको अन्तर्क्रियामा नेता पौडेलले विराटनगरमा शनिबार भएको सभामा प्रधानमन्त्री ओलीले अदालतबाट प्रतिनिधिसभा विघटनको कदम सदर नभए आन्दोलन गर्ने अभिव्यक्ति धम्की र आतेस दुवै भएको बताए ।
'प्रधानमन्त्री पदको गरिमा भुलेर अदालतलबाट आफ्नो असंवैधानिक कदम सदर नभए आन्दोलन गर्छौं भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिँदै छन्,' पौडेलले भने, 'यो अदालतमाथि धम्की त हुँदै हो सँगसँगै अदालतले संसद् पुन:स्थापना हुने भयो भनेर आत्तिएको अभिव्यक्ति पनि हो ।' उनले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुन:स्थापित भए विकृति आउँछ भन्दै दिएको अभिव्यक्तिलाई आकाशतर्फ हेरे थुकेको उपमा दिए ।
'प्रधानमन्त्री भन्दै छन्-सांसद अपहरणदेखि प्रतिनिधिसभा विघटनसम्मका विकृति निम्त्याउने ओलीले नै प्रतिनिधिसभा पुन:स्थापित भए विकृति आउँछ रे !,' पौडेलले भने, 'ओली आकाशतिर हेरेर थुक्क्दै छन् ।' प्रधानमन्त्री ओली यस्ता आपत्तिजनक अभिव्यक्ति दिनुमा कांग्रेसको भूमिकाले दुरुत्साहन गरेको बताए ।
पौडेलले नेतृत्वका कारण कांग्रेस लोकतन्त्र र संविधानको रक्षमा खरो उत्रन नसकेको पनि स्वीकार गरे । 'पार्टीले संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक हो । यस्को विरोध गर्ने भनेर केन्द्रीय समितिले निर्णय गरेको छ,' पौडेलले भने, 'त्यही कुरामा पार्टी नेतृत्व अडिन सकेको छैन । मैले केन्द्रीय समितिमा प्रतिनिधिसभा पुन:स्थापना, संवैधानिक आयोगका नियुक्ति खारेजीको निर्णय गरौंभन्दा सुनुवाइ भएन ।'
उनले पार्टी नेतृत्वले आन्दोलन गर्ने पैसा छैन भन्दै दिएको अभिव्यक्तिलाई पनि आपत्तिजनक भने । 'पार्टीले त आन्दोलनलाई नेतृत्व दिने हो पैसा दिने होइन,' पौडेलले eg], 'यो गैरजिम्मेवार अभिव्यक्ति हो ।' पौडेलले आफू सांसद् नभएकाले प्रतिनिधिसभा पुन:स्थापनाले व्यक्तिगत लाभ नभएको भन्दै कांग्रेसको स्थापना र अहिलेसम्मको निरन्तरता केकारण छ भन्ने कुरा सोच्नुपर्ने बताए ।
'म प्रतिनिधिसभामा छैन । मलाई प्रतिनिधिसभा पुन:स्थापनाबाट कुनै लाभ पनि छैन । तर विधि रक्षाका लागि कांग्रेसको स्थापना भएको होइन ? विधि रक्षा हुन सकेन भने देशलाई कांग्रेस किन चाहियो ?' पौडेलले भने, 'त्यसैले पहिला संविधान र लोकतन्त्र जोगाऔं । अनि चुनाव गरौंला । सरकार पनि बनाउँला ।'