पेरिसडाँडामा प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक, निर्वाचन आयोग जाने कार्यक्रम रद्द

पेरिसडाँडामा प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक, निर्वाचन आयोग जाने कार्यक्रम रद्द

काठमाडौं ।​ नेकपाको प्रचण्ड–माधव समूहको केन्द्रीय समिति बैठक अहिले बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी आकस्मिक बैठकमा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरु सहभागी छन्। उनीहरुलाई नागरिकतासहित उपस्थित हुन भनिएको  थियो। 

पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगले निर्णय गर्न नसकिरहेको अवस्थामा आफ्नो समूह आधिकारिक रहेको दाबी पेस गर्ने प्रयोजनका लागि केन्द्रीय सदस्यहरुलाई बोलाइएको हो । आफ्नो समूहका सबै सदस्यलाई केन्द्रीय कार्यालयमा बोलाएर छलफल गर्ने र निर्वाचन आयोगले समय दिए आजै सबै सदस्य आयोग पुगेर भौतिक उपस्थिति देखाउँदै बहुमत सदस्य रहेको दाबी गर्ने प्रचण्ड–माधव समूहको तयारी थियो । तर आयोगले समय नदिएपछि आज निर्वाचन आयोग जाने कार्यक्रम रद्द भएको छ । 

नेकपाका ४ सय ४१ केन्द्रीय सदस्य रहेकामा तीमध्ये २ सय ७३ जनाको हस्ताक्षरसहित प्रचण्ड–माधव समूहले यसअघि नै आयोगमा आधिकारिकता दाबी गरेको छ । यसअघि माघ १९ गते केन्द्रीय कमिटीको बैठक बसेको थियो।

बैठकले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ अनुसार आधिकारिकता दाबी गरेको थियो । बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु सहभागी छन्।