सरकारले संविधान मिच्दैन, कसैलाई मिच्न पनि दिँदैनः प्रधानमन्त्री ओली

सरकारले संविधान मिच्दैन, कसैलाई मिच्न पनि दिँदैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारले संविधान नमिच्ने बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले संविधान नमिच्ने र मिच्न नदिने बताएका हुन् ।

सरकारले जनताको अभिमतभन्दा विपरीत नजाने, लोकतन्त्रको बाटो नबिराउने, भ्रष्टाचार नगर्ने र गर्न नदिने, सुशासन कायम गर्ने प्रधानमन्त्री ओलीले बताए । ‘सरकारले लोकतन्त्रको बाटो बिराउँदैन, संविधान मिच्दैन, मिच्न दिँदैन । जनताको अभिमतविपरीत जाँदैन र जान दिँदैन,’ उनले भने, ‘भ्रष्टाचार गर्दैन र गर्न दिँदैन । सुशासन कायम गरेर छोड्छ, अपराधलाई नियन्त्रण गर्छ । ’

जनताको आकांक्षा र अभिमतबाट मात्रै लोकतन्त्र सञ्चालित हुन सकोस् भन्ने अभिप्रायले सरकारले अस्थिरता खोज्ने प्रयासलाई निस्तेज गर्दै नयाँ निर्वाचन घोषणा गरेको पनि प्रधानमन्त्री ओलीले बताए । 

प्रधानमन्त्री ओलीले नयाँ निर्वाचनको तयारीमा लाग्न सम्बन्धित निकायलाई आग्रह समेत गरे ।  देशलाई अस्थिरताबाट जोगाउन जुन अभिमतद्वारा अनुमोदित प्रक्रियाबाट लोकतान्त्रिक विधि सम्बत ढंगले देशलाई अगाडि बढाउन ताजा जनादेश आवश्यक भएको पनि प्रधानमन्त्री ओलीले बताए । 

‘कुनै पनि हिसाबले अलमल गर्ने र लोकतन्त्रलाई अलमलमा पार्ने खालका क्रियाकलाप कहीँकतैबाट हुनुहुँदैन । निर्धारित समयमा निर्वाचन हुनेछ र निर्वाचन गरिनुपर्दछ,’ उनले भने, ‘देशलाई अस्थिरताबाट जोगाउने र स्वस्थ जनअभिमतद्वारा अनुमोदित प्रक्रियाबाट लोकतान्त्रिक विधिसम्मत ढंगले अगाडि बढ्ने बाटो ताजा जनादेश नै हो ।’ 

प्रधानमन्त्री ओलीले देशमा लोकतन्त्र आइसकेपछि पनि अन्यथा बाटोबाट अगाडि बढ्न सकिन्छ कि भन्ने प्रवृति हाबी हुन खोजेको बताए ।