काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अदालतको अवहेलना मुद्दामा आफ्नो जवाफ प्रस्तुत गरेका छन् । बिहीबार बिहान सर्वोच्च अदालत पुगेर प्रधानमन्त्री लिखित जवाफ पेस गरेका हुन् । ‘प्रधानमन्त्रीले लिखित जवाफ पठाउनुभएको भए पनि हुन्थ्यो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘अदालतको मान सम्मानका लागि स्वयं उपस्थित भएर लिखित जवाफ प्रस्तुत दिनुभएको छ ।’
सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले माघ १४ गते प्रधानमन्त्रीलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।
कार्की व्याङ्केटमा भएको कार्यकर्ता भेलामा प्रधानमन्त्रीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’ र अदालतमा भइरहेको बहसलाई ‘तमासा’ भनेकोमा अदालतको अवहेलना मुद्दा दायर भएको थियो ।