काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पूर्वमाओवादी तर्फका मन्त्रीहरुलाई उपेक्षा गर्न थालेका छन् । उनीहरुलाई कार्यक्रममा स्थान नदिनेमात्र होइन पार्टीको नीतिगत निर्णयमा समेत सामेल गराउन छाडेका छन् । चुनावको लागि अनुभवी गृहमन्त्री चाहिने बाहनामा उनले गृहमन्त्री रामबहादुर थापालाई पदविहीन बनाउने तयारी गरेको बुझिएको छ ।
यसैक्रममा ओलीले उपाध्यक्ष तथा एकता अभियान सुरू गरेका वामदेव गौतमलाई चुनावी गृहमन्त्री बन्न अफर गरेको खुलेको छ । आइतबार प्रधानमन्त्री ओलीको विशेष निमन्त्रणामा बालुवाटार पुगेका एकता अभियानका संयोजक गौतमलाई चुनावी सरकारको गृहमन्त्री बन्न अफर आयो ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले वैशाखमा जसरी पनि चुनाव गराउने र अनुभवी गृहमन्त्री खोजेको भन्दै चुनावी सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी सम्हाल्न गौतमलाई प्रस्ताव गरे । आइतबारको भेटमा ओली र गौतमबीच चुनाव र पार्टीको विषयमा डेढ घण्टा छलफल भएको स्रोतले दाबी गरेको छ । उक्त भेटमा प्रधानमन्त्री ओलीले गृहमन्त्री सम्हाल्न उनलाई निकै जोड गरेका थिए ।
ओलीले वैशाखमा जसरी पनि चुनाव हुने दाबी गर्दै कुनै अन्यौल नराखी चुनावी सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी सम्हाल्न आउनुस् भन्ने प्रस्ताव गरेका थिए । त्यतिमात्र होइन प्रधानमन्त्री ओलीले गौतमलाई तपाईंसँग चुनाव गराएको अनुभव पनि छ त्यसैले उपप्रधानमन्त्री र गृहमन्त्री बन्नुहोस् भनेर प्रस्ताव राखेका थिए । ओलीको अफरलाई गौतमले सकारात्मक रुपमा लिएको बताइन्छ ।