काठमाडौं । गत साता सरकार राष्ट्रपतिविरुद्ध बोलेको अभियोगमा नेकपाकी युवा नेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गर्यो। शंखमूलस्थित घरबाटै गिरफ्तार परेकी झाँक्री आम नागरिकको चर्को दवावका कारण ६ घण्टामै रिहा भएकी थिइन्।
प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाको ठाडो निर्देशनमा पक्राउ परेकी झाँक्री रिहा हुनुमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको हात रहेको बुझिएको छ। झाँक्रीलाई तत्कालै रिहाई गर्न पूर्व सभामुख सुवास नेम्वाङले हस्तक्षेप गरेका थिए।
झाँक्री पक्राउ परेको थाहा पाउनेबित्तिकै नेम्वाङले गृह प्रशासनसँग आपत्ति जनाएको र जतिसक्दो चाँडो रिहा गर्न भनेकोले सामान्य कागज गराएर छाडिएको एक उच्च प्रहरी अधिकारीले बताएका छन्। प्रहरी प्रशासनमा गरेको कागजमा झाँक्रीले अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्न नमिल्ने भन्दै आफ्नो भनाइप्रति अडान राखेकी थिइन्। त्यसपछि झाँक्रीलाई ५ घण्टा हिरासतमा राखेर छाडिएको थियो।
स्रोतका अनुसार पक्राउ परेलगत्तै नेम्वाङले झाँक्रीको गिरफ्तारबारे आपत्ति जनाएका थिए। उनले संविधानले दिएको मौलिक हकको प्रयोग गर्दा सरकार तानाशाही बन्न नहुनेमा जोड दिँदै झाँक्रीको गिरफ्तारी सरकारका लागि महंगो पर्ने भन्दै गृहमन्त्री थापासँग झोक्किएका थिए।
नेम्वाङ प्रधानमन्त्री केपी शर्मा ओलीका दाहिना हात मानिन्छन्। तर, प्रतिनिधिसभा विघटनदेखि यता नेम्वाङले आश्चर्यजनक मौनता साँधिरहेका छन्।
नेतृ झाँक्रीले केही दिनअघि गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले र एकल महिलाप्रति लक्षित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै प्रहरीले पक्राउ गरेको थियो।
पछिल्लो समय ओली समूहका नेताहरुबीच आन्तरिक खिचातानी र विवादले गर्दा प्रधानमन्त्री ओली तनावमा रहेको बताइन्छ । यसअद्धि ओलीकै कार्यशैलिप्रति आपत्ति जनाउँदै उद्योगमन्त्रप् लेखराज भट्टले ओलीको साथ छोड्ने चेतावनी दिएका थिए ।