बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले बुटवलमा शनिबार विशाल जनसभामार्फत शक्ति प्रदर्शन गर्यो । काठमाडौंमा भएको सभामा ओलीले बृहत् सभा हेर्न बुटवल आउनु भनेर आफूबाट छुट्टिएर गएका प्रचण्ड–नेपाललाई भनेका थिए ।
ओलीले भनेजस्तै बुटवलमा शनिवार आयोजित बृहत् जनसभामा हजारौं कार्यकता सहभागी भए । पार्टी विभाजनपछि गरिएको सभामा जनताको उल्लेख्य सहभागिता देखियो । बुटवलका हरेक सभाले राष्ट्रिय महत्त्व राख्छ । आज शनिवारको सभाले पनि त्यस्तै देखायो । शनिबारको सभाले नेकपा ओली समूहलाई देशमा आफूहरू शक्तिशाली भएको विश्लेषण गराउँदै हौस्याएको देखिन्छ ।
बुटवल उपमहानगरपालिका–९ सिद्धेश्वरी माविको खेल मैदानमा राखिएको सभामा कार्यकता खचाखच भरिएर बजारको बीचमा रहेको सभास्थलमा पुग्न कार्यकतालाई हम्मेहम्मे पर्यो । सभास्थल बाहिर, सुख्खानगर, मिलनचोकदेखि हाटबजारसम्म जनता भरिए ।
नेकपा रुपन्देहीका युवा नेता गोपाल रानाले आफूहरूले सोचेजस्तै मानिसहरू सहभागी भएको बताए । उनले भने, ‘हामीले २ लाख मानिस उतार्ने भनेका थियौ । त्यति नै मानिसहरु आए । बुटवलको आजको सभाले सबै जनता ओलीको पक्षमा छन् भन्ने प्रमाणित गर्यो ।’