नयाँ नक्सा जारी गरेपछि प्रचण्ड–नेपाल आत्तालिए : ओली

नयाँ नक्सा जारी गरेपछि प्रचण्ड–नेपाल आत्तालिए : ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नयाँ नक्सा जारी गरेपछि आफूविरुद्ध षड्यन्त्र भएको बताएका छन्। शनिबार बुटवलमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीबाट केही तत्व बाहिरिएसँगै पार्टी गतिशील बनेको बताए।

‘नयाँ नक्सा जारी गरेपछि, संविधानको अनुसूचीमा त्यसलाई समावेश गरेपछि उहाँहरु(प्रचण्ड–नेपाल) आत्तिनु भयो र प्रधानमन्त्री हट्नु पर्‍यो, सरकार परिवर्तन गर्नुपर्‍यो भनेर अरुले भनेको होइन, अरुले हिम्मत गरेको थिएन। आफ्नै पार्टीबाट बिग्रह पैदा गरेको हो’, उनले भने, ‘काम गर्न नदिने, तीन वर्षदेखि संवैधानिक आयोगहरु बन्न सकेनन्, उहाँहरु हट्नुभो आयोगहरु बने। तगारो के रहेछ भन्ने कुरा तपाईंहरुले देख्नुभो।’

उनले एकताको तीन वर्ष पार्टी हलनचल भएको सरकारले राम्ररी काम गर्न नपाएको गुनासो गरे। ‘पार्टी हलनचल भएको थियो तीन वर्ष। असंगठित, गतिहीन र निष्प्रभावी भएको थियो’, उनले भने, ‘अहिले उहाँहरु जानु भो पार्टी गतिशील भएको छ, जनतामा उत्साहा छाएको छ।’

उनले गएका तीन वर्षमा खुट्टा तान्ने, अनेक अवारेध सिर्जना गर्ने गरेका कारण यस प्रकारका आमसभा गर्न नसकेको बताए। उनले पहिलो पार्टीभित्रै बसेर गाली गर्नेहरु अहिले बाहिर गएर गाली गरिरहेको बताए।

उनले गलत तत्व गएपछि पार्टी शुद्धीकरणको ढोका खुलेको र पार्टी अनुशासित, सुदृढ, संगठित र गतिशील ढंगले अगाडि बढेको दावी गरे।