‘ओली समूहको सभामा आउनेलाई लालपुर्जा बाँड्ने भन्दै भ्रम छरेको आरोप'

‘ओली समूहको सभामा आउनेलाई लालपुर्जा बाँड्ने भन्दै भ्रम छरेको आरोप'

बुटवल । सरकारमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले फागुन १ गते (आज) बुटवलमा गर्न लागेको शक्ति प्रदर्शनसहितको आमसभामा समर्थकको ठूलो संख्या देखाउन सत्ताको चरम दुरुपयोग गरेको आरोप लागेको छ । खासगरी सुकुम्बासी बस्तीका जनतालाई आमसभामा आउनेले लालपुर्जा पाउँछन् भन्ने भ्रम फैलाइएको विपक्षीहरुले ओली समूहमाथि आरोप लगाएका छन् ।

रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ लगायतका जिल्लाका सुकुम्बासी वस्तीमा घर–घरमा पुगेर ओली समूहका स्थानीय नेता कार्यकर्ताले आमसभामा आए लालपुर्जा पाइने लगायतका आश्वासन बाँडेर सत्ताको दुरुपयोग गरेको नेकपा प्रचण्ड–माधव समूहका नेताहरुको आरोप छ ।

आमसभामा आउनेलाई लालपुर्जा दिइन्छ भनेर झुठो आश्वासन दिँदै ओली समूहका स्थानीय कार्यकर्ताले सुकुम्बासी बस्तीमा भ्रम छरेका बुटवल–२ का बासिन्दा हिकबहादुर दर्लामीले गुनासो गरे ।

घर–घरमा आएर आमसभामा आउन निम्तो दिँदै पर्चा पनि दिने र गोप्य तरिकाले आमसभामा आए मात्रै लालपुर्जा पाइन्छ भनेर ‘ब्ल्याकमेल’ गरेको दर्लामीले बताए । यस बाहेक गुटको आमसभा तयारीका बैठक, भेला आदि कार्यक्रममा सरकारी गाडी लगायत साधनस्रोतको दुरुपयोग पनि भएको उनले बताए ।