रामकुमारी झाँक्री पक्राउ, प्रचण्डले दिए यस्तो चेतावनी

रामकुमारी झाँक्री पक्राउ, प्रचण्डले दिए यस्तो चेतावनी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षकी नेता रामकुमारी झाँक्रीलाई राज्यविरूद्धको कसूर गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। सो समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको आरोप लगाएका छन् ।

लोकतन्त्रको पक्षमा प्रखर विचार राख्नेविरुद्ध पक्राउ गर्ने नियत देखिएको उनले दाबी गरे । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीवार मगर संघले आयोजना गरेको कार्यक्रममा प्रचण्डले राष्ट्रपतिविरुद्ध गलत बोल्यो भन्ने बहाना बनाए प्रधानमन्त्रीको ठाडो आदेशमा झाँक्रीलाई पक्राउ गरिएको दाबी गरेका हुन् ।

‘प्रहरीले हिजोदेखि नै पक्रिन बल गरेको थियो, तथाकथित राष्ट्रपतिविरुद्ध गलत बोल्यो भनेको नाममा प्रधानमन्त्रीको ठाडो आदेशमा प्रहरीलाई पक्रनै पर्‍यो, जसरी भए पनि पक्रन भनेको थियो,’ प्रचण्डले भने, ‘हामीले रोक्न बल गर्‍यौं, अहिले भर्खर खबर आयो, उनीहरूले कमरेड रामकुमारी झाँक्रीलाई जबरजस्ती पक्राउ गरेर लगे ।’

प्रचण्डले झाँक्रीको पक्राउ कम्युनिस्ट पार्टीको निम्ति पनि चुनौती भएको दाबी गरे । ‘उहाँ त छिट्टै छुटी हाल्नु होला तर उनीहरूको नियत त देखियो नि ! कहाँ प्रहार गर्न खोजेका छन् ? लोकतन्त्रको प्रखर विचार राख्नेका विरुद्ध तालाचाबी लगाउन षड्यन्त्र भएको छ । यसविरुद्ध हामीले निर्णय गर्छौं,’ प्रचण्डले भने ।