ओलीको सेटिङ अनुसार चले मुलुक ठूलो राजनीतिक भूमरिमा फस्छः प्रचण्ड

ओलीको सेटिङ अनुसार चले मुलुक ठूलो राजनीतिक भूमरिमा फस्छः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष पुष्पमकल दाहालले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सदर भएको खण्डमा नेपालमा ठूलो राजनीतिक भूमरिमा फस्ने बताएका छन् । नेपालबाट अन्तराष्ट्रिय संञ्चार माध्यमका लागि काम गर्दै आएका पत्रकारहरुसंग मंगलबार काठमाडौंमा भएको भेटमा अध्यक्ष दाहालले बाहिर सुन्नमा आएजस्तै सेटिङ अनुसार नै निर्वाचन आयोग र सर्वोच्च अदालतको निर्णय आयो भने मुलुक ठूलो राजनीतिक भूमरिमा फस्ने चेतावनी दिए। 

यद्यपी आफुहरु संविधानको अक्षर र भावना अनुसार नै न्यायलयबाट निर्णय आउने विश्वस्त रहेको उहाँले स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले संविधान भन्दा बाहिर गएर गरेको निर्णयलाई सर्वोच्चले सदर गर्छ जस्तो नलागेको उल्लेख गर्दै उनले त्यसो भयो भने आफुहरुले गम्भीर रुपमा विचार गर्नुपर्ने अवस्था श्रृना हुने बताए । उनले असंबैधानिक र अलोकतान्त्रिक कदम अनुसारको निर्वाचन पनि अलोकतान्त्रिक र असंबैधानिक नै हुने तर्क गरे ।

उनले भने 'यदि प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र स्वच्छेचारी कदमलाई सदर गरियो भने देश निकै ठूलो राजनीतिक भूमरिमा नेपाल पर्छ । संवैधानिक र अलोकतान्त्रिक ढंगले संविधान मिचिईसकेपछि त्यसको मातहतमा आयोजना हुने निर्वाचन पनि असंबैधानिक र अबैधानिक नै हुन्छ । यदि प्रधानमन्त्रीले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई जे भन्यो त्यही मान्ने मान्छे ठान्नुभएको छ भने निकै ठूलो भ्रम हो भन्ने हाम्रो भनाई छ । यदि सेटिङ नै भए जसरी निर्णय भयो भने हामी गम्भीर ढंगले सोच्छौ । त्यो निर्वाचनलाई हामी सहज ढंगले लिन सक्ने स्थिति हुदैन । नैतिक रुपले अनि राजनीतिक रुपमा निकै ठूलो प्रश्न खडा हुन्छ । हामी निर्वाचन विरोधी होइनौ र हुनक्तैनौ तर असंवैधानिक र अलोकतान्त्रिक तरिकाले जबरजस्ती भनियो भने त्यो अबैधानिक, असंबैधानिक र अलोकतान्त्रिक निर्वाचनका बारेमा हामीले गम्भीर रुपमा विचार गर्नुपर्ने नै हुन्छ ।'

अध्यक्ष दाहालले प्रधानमन्त्री ओली आफैले प्रतिगमन गरेर आफै प्रतिगमनका विरुद्ध सभा आयोजना गर्नु आश्र्यजनक रहेको टिप्पणी गरे । उनले सरकारको संविधान विरोधी कदम विरुद्ध आफूहरु संघर्षमा लाग्नु स्वभाविक भएपनि सरकारपक्षले नै सभा गरेर तेश्रो जनआन्दोलन सुरुभयो भन्नु लोकतन्त्र विरुद्धको उपहास भएको बताए । उनले प्रधानमन्त्री ओलीले राज्यशक्तिको दुरुपयोग र प्रतिष्पर्धामा उत्रिएको दाबी गरे ।