दोस्रो चरणको खोप अभियान आजबाट शुरु, प्राथमिकतामा को-को ?

दोस्रो चरणको खोप अभियान आजबाट शुरु, प्राथमिकतामा को-को ?

काठमाडौं । सरकारले दोस्रो चरणको खोप अभियान आजबाट शुरु गरेको छ । यो चरणमा सार्वजनिक कामका निम्ति भिडभाड हुने निजी तथा सरकारी कार्यालयका कर्मचारी एवं धेरै मानिसहरूसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने जिम्मेवारी भएकाहरूलाई खोप लगाइने स्वास्थ्य मन्त्रालयको योजना छ ।

बैंक, मालपोत तथा नापी कार्यालय, स्थानीय निकायहरू, खानेपानी तथा विद्युत कार्यालय, दूरसञ्चारसँग सम्बन्धित कार्यालय र सञ्चारकर्मीहरूलाई लक्षित गरेर सोमवारदेखि खोप लगाउन थालिएको हो ।

दोस्रो चरणमा दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकारलाई प्राथमिकतामा राखिएको छ । काठमाडौंको सिभिल, शिक्षण, सहिद गंगालाल र ललितपुरको पाटन अस्पतालमा दोस्रो चरणको खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सिभिल अस्पतालमा पत्रकारलाई र पाटन अस्पतालमा संयुक्त राष्ट्रसंघ अन्र्तगतका एजेन्सीमा कार्यरत तथा विदेशी कर्मचारीलाई खोप लगाइने मन्त्रालयले जनाएको छ । शिक्षण अस्पताल महारागन्ज र बाँसबारीस्थित सहिद गंगालाल अस्पतालमा दूतावास तथा कूटनीतिक नियोगमा कार्यरत व्यक्ति तथा विदेशी कर्मचारीमा आश्रित व्यक्तिलाई खोप दिइने भएको छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स र शववाहन चालक, महिला स्वास्थ्य स्वंमसेविका, सरसफाइकर्मी, जेलका कैदी, वृद्धाश्रममा बस्ने र उनीहरूको स्याहारमा खटिने, त्रिभुवन विमानस्थलका कर्मचारीलाई खोप दिइएको थियो । भारत सरकारले १० लाख खोप अनुदानमा उपलब्ध गराएको थियो । यसमध्ये पहिलो चरणमा खोप लगाएर पनि ८ लाखभन्दा बढी डोज बाँकी छ ।

माघ चौध देखि शनिबारसम्मको पहिलो चरणमा १ लाख ८१ हजार ८ सय ५७ जनाले खोप लगाएपछि दोस्रो चरणको खोप अभियान शुरु गरिएको हो ।