प्रदेश १ को प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव अगाडि बढाइने

प्रदेश १ को प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव अगाडि बढाइने

विराटनगर । प्रदेश १ को नियमित तथा सातौँ हिउँदे अधिवेशनको दोस्रो बैठक आइतबार विराटनगरस्थित प्रदेशसभा हलमा बस्दैछ। सत्तारुढ दल नेकपाभित्र देखिएको चरम असन्तुष्टिसँगै बढ्दो विवादका कारण बैठकले निरन्तरता पाउन सकेको छैन। यसअघि माघ ७ गते बोलाइएको पहिलो बैठक विवादकै कारण प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीको पत्र पढेर स्थगित भएको थियो।

आइतबार दिउँसो २ बजेको लागि बोलाइएको बैठकको तयारीका लागि सभामुख प्रदीपकुमार भण्डारीले बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक राखेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल, माधवकुमार नेपाल पक्षधरबिच विवाद कायमै रहेको छ। दाहाल र नेपाल पक्षले प्रदेशका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि बैठक कसरी अघि बढ्नेछ भन्नेमा चासो बढेको छ।

दाहाल नेपाल समूह आइतबार हुने बैठकमा अविश्वासको प्रस्ताव टेबल गर्नुपर्ने अडानमा कायम रहेको छ। तर, मुख्यमन्त्री राई पक्ष भने आफूविरुद्ध पत्र दर्ता गराएका १६ जनाविरुद्धको कार्वाहीलाई यथावत राख्ने पक्षमा रहेको छ।

मुख्यमन्त्री पक्षबाट नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले कार्वाही गरिएका प्रदेशसभा सदस्यलाई बैठकमा प्रवेश दिन नहुने अडान कायम रहेको बताउँछन्। प्रमुख सचेतक राजभण्डारी कार्वाहीमा परेका प्रदेशसभा सदस्य बैठकमा उपस्थित भए सदन अवरुद्ध गर्ने चेतावनी दिँदै आएका छन्।

त्यसैगरि, अर्कोतर्फ दाहाल नेपाल पक्षका प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बो १६ जना प्रदेशसभा सदस्य कारवाहीको विषय सकिसकेको बताँउछन्। उनले यसअघिको पहिलो बैठकमा सबै प्रदेश सभासदस्य प्रवेश गरेपछि कारवाहीको च्याप्टर क्लोज भएको दाबी गरे।

कारवाहीको विषय झिकेर बैठक अवरुद्ध गर्नु हाँस्यास्पद भएको बताउँदै उनले आइतबार नै अविश्वासको प्रस्ताव बैठकमा टेबुल हुनुपर्नेमा जोड दिए । नेपाली कांग्रेस प्रदेश १, संसदीय दलका नेता राजीव कोइरालाले नेकपाभित्रको विवादका कारण सदनलाई अनिर्णयको बन्दी बनाउन नहुने बताए।

गत पुस १२ गते मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाका दाहाल नेपाल पक्षका ३७ नेताले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तर अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका मध्ये ५ जनाले हस्ताक्षर फिर्ता लिएका छन्।