विरोध प्रदर्शनलाई अझै व्यापक बनाउन देउवाको आग्रह

विरोध प्रदर्शनलाई अझै व्यापक बनाउन देउवाको आग्रह

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध विरोध कार्यक्रमलाई अझै व्यापक बनाउन अपिल गरेका छन् । देउवाले शनिबार शुभेच्छुक संस्थाहरूले गरेको कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद र आभार प्रकट गर्दै ३ फागुनको कार्यक्रमलाई अझ व्यापक र प्रभावकारी बनाउन अपिल गरेका हुन् । 

‘पूर्वघोषणाअनुरूप फागुन ३ गते जिल्ला कार्यसमितिद्वारा गरिने विरोध प्रदर्शनलाई अझ व्यापक र प्रभावकारी बनाउन सबैमा अपिल गर्दछु,’ देउवाले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

कांग्रेसले आगामी ३ फागुनमा ७७ वटै जिल्ला कार्यसमितिको आयोजनामा विरोध र्याली र सभा गर्ने कार्यक्रमको घोषणा गरेको छ । उनले कांग्रेसले गरेका विरोध कार्यक्रममार्फत केपी शर्मा ओली नेतृत्वको नेकपा सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक, सर्वसत्तावादउन्मुख कदम एवं मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड—१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध जनभावना अभिव्यक्त गरेको बताएका छन् ।