संविधानको रक्षा गर्न सर्वोच्च अदालत गएको हुँ : सभामुख सापकोटा

संविधानको रक्षा गर्न सर्वोच्च अदालत गएको हुँ : सभामुख सापकोटा

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले शृङ्खलाबद्ध रूपमा संविधानको उल्लङ्घन भएको भन्दै संविधानको रक्षा गर्न सर्वोच्च अदालत गएको बताएका छन् । सभामुख सापकोटाले शुक्रवार पत्रकार सम्मेलन गर्दै सरकारले शृङ्खालाबद्ध रूपमा संविधान उल्लङ्घन गरेका कारण संविधानको रक्षा, संरक्षण र संवर्द्धनका लागि आफू संविधान र कानुनको अन्तिम व्याख्या गर्ने अधिकार पाएको सर्वोच्च अदालतमा पुगेको बताए ।

सभामुख सापकोटाले संसदीय सुनुवाइविना संवैधानिक आयोगका पदाधिकारी नियुक्त गरिएको भन्दै यसले राज्य सञ्चालनका विधि, पद्धति र प्रक्रिया मिच्दै संविधानको ठाडो उल्लङ्घन भएको बताए । असंवैधानिक रूपमा प्रतिनिधि सभा विघटन गरिएका कारण संसदीय सुनुवाइ समितिमा सुनुवाइ हुन नसक्ने स्थिति भएकाले सबै सक्कल कागज संवैधानिक परिषदमा फिर्ता पठाइएको स्मरण गराउँदै उनले संवैधानिक परिषद्ले पुनः सिफारिस गर्नुपर्ने बाध्यात्मक अवस्थाको विपरीत नियुक्ति गरिनु संविधान विपरीत भएको बताए । संवैधानिक परिषद्को निर्णय रहस्यमयी र पारदर्शी नभएको उनको भनाइ छ ।

सञ्चारकर्मीहरूको जिज्ञासाको उत्तर दिँदै सभामुख सापकोटाले संसद् बैठक बोलाउने विषयमा सबै पक्षसँग सल्लाहरपरामर्श गरिरहेको बताए । आफूले जे गरे पनि राष्ट्रको हितमा केन्द्रित भएर गर्ने भन्दै उहाँले आफू विवेकको आधारमा सत्यको अन्वेषण गर्न लागेको जानकारी दिए। देश र नागरिकको पक्षमा ठिक छ भन्ने आफ्नो चेतनाले निर्देशित गर्‍यो भने विवेकको आधारमा काम गर्ने सभामुख सापकोटाले बताए ।

उनले स्वेच्छाचारी ढङ्गले संविधानमाथि खेलबाड गर्दै संविधान विपरीतका कार्यहरू थपिँदै जाँदा भयावह अवस्थाको सिर्जना नहोस् भनि आफ्नो तर्फबाट भगीरथ प्रयत्न जारी राख्ने बताए । सभामुख सापकोटाले संवैधानिक आयोगहरूमा भएको नियुक्तिका विरुद्धमा शुक्रवार नै सर्वोच्च अदालत पुगेर रिट निवेदन दर्ता गराएका छन् ।