आन्दोलनमा घाइते मात्रिका यादव र रामचन्द्र झालाई उपचारका लागि काठमाडौं रिफर

आन्दोलनमा घाइते मात्रिका यादव र रामचन्द्र झालाई उपचारका लागि काठमाडौं रिफर

जनकपुरधाम । प्रहरीसँगको झडपमा घाइते भएका नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य मात्रिका यादव र केन्द्रीय कमिटी सदस्य रामचन्द्र झालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । प्रहरीको लाठी प्रहारबाट घाइते झाको टाउकोमा ८ वटा टाँका लगाइएको र स्थायी कमिटी सदस्य यादवको खुट्टामा चोट लागेको केन्द्रीय सदस्य श्रीप्रसाद शाहले जानकारी दिए । 

अहिले प्रादेशिक अस्पताल जनकपुरमा रहेका उनीहरूलाई आजै काठमाडौं लैजाने तयारी भएको उनले जानकारी दिए ।  नेकपाले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अनावश्यक बल प्रयोग गरेको आरोप लगाएको छ । यादव र झाका अतिरिक्त जिल्लास्तरीय केही नेता पनि घाइते भएका छन् । 

आन्दोलनकारीले प्रहरीको भ्यानमा आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन केही राउण्ड अश्रु ग्यास प्रहार गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।  आन्दोलनकारी ६ सयको संख्यामा लाठीसहित आएको र उनीहरूले प्रहरी भ्यानको शिशा फुटाएको प्रजिअ बाँस्तोलाले दाबी गरे ।