काठमाडौं । सामाजिक सञ्जाल प्रयोगकर्ताको चर्को आलोचनाका बीच प्रचण्ड–नेपाल पक्ष बिहीबारको आन्दोलनलाई सशक्त बनाउने योजनामा जुटेको छ । विशेषगरी काठमाडौं उपत्यकामा बन्दलाई प्रभावकारी बनाउने रणनीतिमा सो पक्ष देखिएको छ ।
प्रचण्ड नेपाल पक्षले बिहान ५ बजे नै नेता कार्यकर्तालाई भेला हुनका लागि ११ ठाउँ सार्वजनिक गरेको छ । त्यसैका लागि काठमाडौंका ११ स्थानमा कमान्डर तोकिएका छन् । जसअनुसार कलङ्की चोकमा युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, बल्खुमा बेदुराम भुसाल र सातदोबाटोमा देव गुरुङ कमान्डर तोकिएका छन्।
त्यस्तै, पुल्चोकमा पम्फा भुसाल, कोटेश्वरमा लीलामणि पोखरेल, चाबहिलमा वर्षमान पुन र हरिबोल गजुरेल, नारायणगोपालचोक महाराजगञ्जमा शक्ति बस्नेत तोकिएका छन्। गोंगबुमा भीम रावल, बालाजुमा रघुजी पन्त र रत्नपार्कमा प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा जनार्दन शर्माले कमान्ड समाल्ने नेकपाले जनाएको छ।
सो समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन र संवैधानिक आयोगमा नियुक्ति गर्ने कदमको विरोध गर्दै नेपाल बन्दको आह्वान गरेको हो ।