केपी ओलीको सेटिङलाई जनताले भत्काइदिन्छन् : प्रचण्ड

केपी ओलीको सेटिङलाई जनताले भत्काइदिन्छन् : प्रचण्ड

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु सर्वोच्च अदालतको निर्णयको पर्खाइमा रहेको बताएका छन् । उनले आवश्यक परे संसद् बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्न सकिने बताए । तर, सर्वोच्चको निर्णय पर्खने उनको भनाइ छ ।

प्रचण्डले धेरै संविधान बनेको तर ती सबै संविधानभन्दा ०७२ को संविधान फरक रहेको बताए । उनले प्रतिनिधिसभा नभई संविधान नै विघटन गरिएको तर्क गरे ।

शुक्रबार विराटनगरमा नेकपाले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै दाहालले भने, “ती संविधान राजा–महाराजाको अधिकार भन्दै थोपरिएका थिए । तर, नयाँमा जनताको तर्फबाट जनतालाई अधिकार दिएर लागु गरिएको थियो । आँखाअगाडि प्रतिक्रियावादी एजेन्टले संविधान विघटन गरिदिए । यो लोकतन्त्रमाथि हमला भएको छ । यो जनताको अधिकारमाथिको हमला हो ।’’

उखान–टुक्का भन्न संघर्ष सुरु नगरिएको बताउँदै दाहाले भने, “मुलुक गम्भीर संवैधानिक संकटमा परेको छ । केपी ओली प्रतिक्रान्तिको दलाल बने ।’’  ओली खुरापाती भएको र कम्युनिस्ट पार्टीमा पसेर प्रतिक्रान्तिको चंगुलमा बसेको आरोप उनले लगाए ।

देश कोरोना महामारीले आक्रान्त भएको बेला देशमा प्रतिक्रान्तिको प्रयास हुँदै गरेको र त्यसको विपक्षमा जनता सडकमा आएको जिकिर उनले गरे ।

ओली पक्षले अहिले विभिन्न भ्रम फैलाएको र दिउँसै रात पार्न खोजे पनि त्यसमा विश्वास नगर्न प्रचण्डले कार्यकर्ताहरुलाई आग्रह गरे । ‘केपीका मान्छे सेटिङ भन्दै हिँडेका छन् । त्यो सेटिङलाई जनताले भत्काइदिन्छन् र जनताले सेटिङ गर्छन्’ अदालतलाई सम्मान गर्ने तर सबैभन्दा ठुलो अदालत जनता नै भएको प्रचण्डले बताए ।