वामदेवले आज पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दै, ओली र प्रचण्ड दुवैलाई पठाए निम्ता

वामदेवले आज पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दै, ओली र प्रचण्ड दुवैलाई पठाए निम्ता

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले आज औपचारिक रुपमा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे लगत्तै नेकपा दुई समूहमा विभाजित भएको छ । नेकपा एकता राष्ट्रिय अभियान घोषणाका लागि ललितपुरको धोबीघाटस्थित एक कटेजमा औपचारिक कार्यक्रम राखिएको छ । कार्यक्रममा ओली र पुष्पकमल दाहाल दुवैलाई निम्तो दिइएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिए ।

गत पुस ५ गते संसद विघटन भएपछि नेकपा विभाजित अवस्थामा छ । एउटा खेमाको नेतृत्व प्रधानमन्त्री ओलीले र अर्को खेमाको नेतृत्व पुष्पकमला दाहाल र माधव नेपालले गरेका छन् ।

उपाध्यक्ष गौतम भने हालसम्म तटस्थ देखिएका छन् । पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि नेकपा विभाजन नहोस् भन्ने पक्षमा रहेको भन्दै गौतमले नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका छन् ।

उनले कुनै पनि समूहका नेताहरुको गालीगलौजको शैलीमा विरोध नगर्न र घरमा आउनेहरुलाई सक्दो सहयोग एवं सम्मान गरी समाजवादी शैली अपनाउन सबैलाई अपिल गरेका छन् ।

प्रेस संयोजक सुवेदीका अनुसार एकता घोषणा कार्यक्रममा ७ सय ५१ सदस्यीय एकता केन्द्रीय अभियान समितिको घोषणा पनि गरिने छ । समितिको संयोजकमा वामदेव गौतम र सहसंयोजकमा हरि पराजुली रहने छन् ।

त्यस्तै गौतमले लेखेका दुई वटा किताब जनताको बहुदलीय जनवादको तुलनात्मक अध्ययन र एक्काइसौं शताब्दीको कम्युनिष्ट आन्दोलन नामक किताबको विमोचन गर्ने कार्यक्रम पनि रहेको छ ।