आलमको बयान सकियो, आलमको बचाउमा २८ जना वकिलले बहस गर्दै

रौतहट : नेपाली कांग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमको जिल्ला अदाललत रौतहटमा बयान सकिएको छ । तीन दिनदेखि जारी बयान आज सकिएपछि थुनछेक बहस हुनेछ । २०६४ साल चैत २७ गते दर्जन भन्दा बढी व्यक्तिलाई इटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोगमा आलममाथि जिल्ला सरकारी वकिल कार्यालयले तीनवटा मुद्दा दर्ता गराएको छ ।

त्यसमा जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा उहाँको बयान सकिएपछि अब आलमको पक्ष र विपक्षमा कानुन व्यवसायीहरुले बहस गर्नेछन् । अब केही समयमै आलमको थुनछेक बहस शुरु हुने छ । आलमको तर्फबाट बहस गर्नका लागि २८ जना कानून व्यवसायीहरुले वकालतनामा दर्ता गराएका छन् ।

आलमको पक्षबाट वकालत गर्न वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, योगेन्द्र अधिकारी, सुनील पोखरेल, कृष्ण घिमिरे (भुषण) रौतहट पुग्नुभएको छ ।पीडितको पक्षबाट पूर्वमहान्यायाधिवक्ता डा. युवराज सङग्रौला, वरिष्ठ अधिवक्ता पुष्पराज पौडेल, आशिकराम कार्की, गोविन्द शर्मा बन्दी ओमप्रकाश अर्याल दिनेश त्रिपाठी डा. कुमार शर्मा आचार्यले बहस गर्नुहुने छ ।

२७ चैत २०६४ मा भएको बम विस्फोट र विस्फोटमा घाइते भएका व्यक्तिलाई इटाभट्टामा जलाएर मारेको अभियोगमा कांग्रेस नेता तथा प्रतिनिधिसभाका सदस्य आलमसहित ११ जनाविरुद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरिएको छ ।