प्रधानमन्त्रीको गृहजिल्लामा पूर्वराजाको सक्रियता

प्रधानमन्त्रीको गृहजिल्लामा पूर्वराजाको सक्रियता

झापा । देशमा राजावादीहरूले राजसंस्था पुनस्र्थापनाको माग गर्दै आन्दोलन गरिरहेका वेला पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय भएका छन् । सार्वजनिक कार्यक्रममा विरलै देखिने पूर्वराजा प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाको एक सार्वजनिक कार्यक्रममा शनिबार सहभागी भए । यद्यपि, उनले भाषण भने गरेनन् । 

भद्रपुर–२ स्थित गौरीशंकरमा रहेको सिंहदेवी आधारभूत विद्यालयमा हिमानी ट्रस्टले आयोजना गरेको राहत वितरण कार्यक्रममा उनी सहभागी भएका हुन् । कार्यक्रमस्थलमा उनी करिब एक घन्टा रहे । उक्त कार्यक्रममा शाहसँगै पूर्वयुवराज्ञी हिमानी र छोरा हृदयेन्द्र पनि सहभागी भएका थिए । कार्यक्रममा सहभागी पूर्वराजाले जातीय पहिरनमा सजिएका बालिकाहरूलाई स्टेजमै बोलाएर केहीबेर सँगै बसे ।

पूर्वराजा आएपछि विद्यालय परिसरमा भेला भएका राजावादीहरूले उनको पक्षमा नारा लगाएका थिए । एक महिनाअघि झापामा राजसंस्थाको पुनस्र्थापनाको माग गर्दै भएको प्रदर्शनमा समर्थनको बाक्लो उपस्थिति भएपछि उनी राजा समर्थक झापाली नेताहरूसँग खुसी थिए । पूर्वराजा शाह दुई सातादेखि झापामै छन् । उनी दमकस्थित हिमालय महालक्ष्मी चियाबगानभित्र रहेको मिनी दरबारमा बस्दै आएका छन् । उनी प्रत्येक वर्ष काठमाडौंको जाडो छल्न झापा आउने गरेका छन् ।