पचास वर्षपछि पुरानै धारमा फर्कियो वाग्मती

पचास वर्षपछि पुरानै धारमा फर्कियो वाग्मती

काठमाडौं । ‘बाह्र वर्षमा खोलो फर्कन्छ’ भन्ने उखानलाई गलत सावित गर्दै ५० वर्षपछि वाग्मती नदीको मुहानस्थलको करीब सात किमी भागलाई विसं २०२१ को नापी अनुसारकै बहाव क्षेत्रमा फर्काइएको छ। सुन्दरीजलबाट गोकर्णसम्मको करिब सात किमी नदीलाई नापीअनुसारको बहाव क्षेत्रमा फर्काउँदा सयौँ मानिसले वर्षौंदेखि हराएको जमीन पाएका छन्। पचास वर्षपछि नदी पुरानै धारमा फर्काइँदा स्थानीयवासीले एक हजार १०० रोपनी जग्गा पाएको यसको नेतृत्व गरेका अभियानकर्मी केशवप्रसाद पुडासैनी बताउछन्।

बागमतीलाई पुरानै धारमा फर्काउने अभियानको नेतृत्व गर्दा एक महिना तीन दिनसम्म असहमत पक्षले धम्की दिएको उनी बताउछन्। ‘जग्गा पुरानो धारमा फर्काउन ३३ दिन लागेको समयमा म ३१ रातसम्म त आफन्त कहाँ गएर बसेँ, एक दिन नगरकोट र एक दिन बाह्रबिसे बसेर काम सक्ने समय गुजारेँ’, नदीको जग्गामा कमाइ खाएकाको धम्की सहनु पर्दाको पीडा सुनाउँदै पुडासैनीले भने।

बागमतीलाई पुरानै धारमा फर्काउन २०६६ पुस १९ गते सम्झौता भएको थियो। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका तत्कालीन अध्यक्ष महेशबहादुर बस्नेत र नेपाली सेनाको विकास निर्माण तथा स्थपति महानिर्देशनालयका तत्कालीन प्रमुख उपरथी नरेशबहादुर बस्नेतबीच सम्झौता भई मुहान क्षेत्रको बागमतीलाई २०२१ सालमा भएको नापीको बहाव क्षेत्रमा फर्काउने अभियान शुरु भएको हो।

सम्झौतापछि स्थानीय राजनीतिक दलका नेता कार्यकर्तासँग समेत २०६६ चैत ६ गते सहमति गरी त्यसको भोलिपल्टदेखि काम सुरु गर्न लागिएको थियो। चैत ७ गते पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन भएपछि चैत ९ गतेदेखि मात्र काम शुरु भएको थियो। बहाव क्षेत्र परिवर्तन गर्दै हिँडेको नदीले बागमती फाँटका सात हजार रोपनी जग्गा खान्छ भन्ने किसानलाई डर थियो। पुरानो बहाव क्षेत्रमा फर्काएपछि किसानले गरिखाने ठाउँ जोगिएकामा खुसी व्यक्त गरेका छन्।

स्थानीय शशीधर पुडासैनी वर्षौंदेखि कर तिरिरहेको जग्गा नदीमा परेकामा नदीको बहाव परिवर्तन गराएसँग प्राप्त भएको बताउछन्। यसबाट परिवारमा खुशी छाएको उनले सुनाए। थुप्रै किसानले गुमेको जग्गा धार परिवर्तनसँगै पाएका छन्।

बागमतिलाई पुरानो धारमा फर्काउने क्रममा यस क्षेत्रका नौ वटा सहायक नदीमा पुल हालिएको छ। दुई स्थानमा सवारी चल्ने पक्की पुल नै निर्माण भएको छ । ढकाल खहरे, मरुवा खहरे, बञ्चरे, म¥याङघाट खहरे, थलीबाट नयाँपाटी निस्कने स्थान, कोलमतेश्वर र उत्तरगया नजिकै पनि झोलुंगे पुल बनेका छन्।

नामगेल–कोलमतेश्वर–थली र बीपी चोक–भद्रवास जोड्ने बागमती नदीमाथि भने सवारी चल्ने पक्की पुल निर्माण भएको छ। नदीलाई पुरानै बहाव क्षेत्रमा फर्काएपछि सडक विभागले दुई पक्की पुल निर्माण गरेको हो। पुल बनाउने कामको नेतृत्व पनि पुडासैनीले नै गरे।

विसं २०६५ को माघे संक्रान्तिमा देवघाट दर्शनमा जाँदा त्यहाँ सुनेको प्रवचनको प्रभावमा वाग्मतीलाई पुरानै बहावमा फर्काउने संकल्प गरेको उनी सुनाउछन्। देवघाट यात्राका क्रममा डा रामानन्द गिरी, आत्मानन्द गिरी र ज्ञानानन्द गिरीको प्रवचनको प्रभावले एक हजार १०० रोपनी नदीमा परेको जग्गा किसानले पाएका छन्। जग्गा बागमतीमा परे पनि जग्गाधनीले कर भने स्थानीय सरकारलाई बुझाउँदै आएका थिए।