आज पनि देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने

आज पनि देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने

काठमाडौं । मंगलबार बिहानैदेखि देशैभर मौसम बदली भएको छ। आज पनि देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम सामान्य बदली रहनेछ भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

यस्तै बागमती र प्रदेश नम्बर १ का पनि एक वा दुई स्थानमा आज हल्का वर्षा हुने सम्भावना छ। यसैगरी आज देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यमसम्म हिमपातसमेत हुने सम्भावाना छ। ‘तर काठमाडौंमा आज वर्षा हुने सम्भावना एकदमै कम छ,’ मौसमविद् गंगा नगरकोटीले भनिन्।

राति पनि देशभर मौसम आंशिकदेखि सामान्य बदली भई् सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भेगमा भने हल्कादेखि मध्यम हिमपातको समेत सम्भावाना छ।

आज बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ स् देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुनुका साथै  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बागमती र प्रदेश न। १ को भू(भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले यात्रा गर्दा सावधानी अपनाउनु हुन तथा देशभर बदली भई हल्का वर्षा र हिमपातका कारण अधिकतम र न्यूनतम तापक्रममा हल्का गिरावट आई देशैभरि चिसो बढ्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

मौसमविद् नगरकोटीका अनुसार पश्चिमी वायुको प्रभावले एक दुई दिनयता देशभर मौसम बदली तथा धेरै स्थानमा हल्का वर्षा र हिमपात भइरहेको हो। ‘भोलि बुधबार देखि यो क्रम केही कम हुँदै पर्सि बिहीबारबाट भने मौसम सफा हुँदै जाने सम्भावना छ,’ उनले भनिन्।