काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले नेकपाको प्रचण्ड–माधव समूहले आन्दोलनमा जनता आउन छाडेपछि ‘छिमेकी’ गुहार्न थालेको बताएका छन्। दाङमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
यसैगरी पूर्व नेकपा एमालेको अन्तर विरोधमा खेलेर केपी ओलीलाई पाखा लगाउन खोज्दा प्रचण्ड सडकमा पुगेको उनको भनाइ थियो। कानुनसम्मत र संवैधानिक रुपमै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई सडकमा पुर्याएको दाबी गरेका छन्।
उनले भने, ‘प्रचण्डको फुटाउ र राज गर भन्ने प्रवृत्ति छ। नेकपाको अन्तरविरोधमा एक पक्षसँग मिलेर उहाँले प्रधानमन्त्री केपी ओलीलाई पाखा लगाउन खोज्नुभयो। ओलीले कानुनी र संवैधानिक प्रावधानको प्रयोग गरेर उहाँहरुलाई सडकमा पुर्याउनुभयो।’
प्रचण्डले ओलीविरुद्ध ल्याएको आरोपपत्रले नेकपालाई विभाजित गरेको उनले बताए। प्रचण्ड र माधवलाई आफू लोकप्रिय रहेको भ्रम रहेको र उक्त भ्रम निर्वाचनबाट तोडिने पनि उनको भनाइ थियो।