विराटनगर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रदेशसभा पनि विघटन हुनसक्ने बताएकी छन् । सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाङ्फेले केन्द्रमा देखिएको राजनीतिको प्रभाव प्रदेश सभामा पनि देखिएकाले नेपालको संविधान र प्रदेशको कानुन अनुसार प्रदेशसभा विघटन हुन सक्ने सम्भावना रहेको बताइन् ।
पूर्वकानुनमन्त्रीसमेत रहेकी उनले प्रदेशसभा सञ्चालन र विघटनको अधिकार प्रदेशमा रहेको बताइन् । प्रतिनिधिसभा विघटन भएपछि वर्तमान सरकार कामचलाउ बनेको बताउँदै उनले कामचलाउ बनेको सरकारको काम कारवाही सहज रुपमा अघि बढाउन प्रधानमन्त्रीले मन्त्रीमण्डल विस्तार गरेको बताइन् ।
संसद् विघटन संविधानमा स्पष्ट रुपमा उल्लेख नभए पनि ताजा जनादेशमा जानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय गरेको उनले बताइन् । यो विधिसम्मत भएको पनि उनले दाबी गरिन् ।