ओलीको गृहजिल्लामा प्रचण्ड–नेपाल पक्षको शक्ति प्रदर्शन

ओलीको गृहजिल्लामा प्रचण्ड–नेपाल पक्षको शक्ति प्रदर्शन

भद्रपुर । प्रधानमन्त्री केपी ओलीको गृह जिल्लामा प्रचण्ड–नेपाल पक्षका नेकपा कार्यकर्ताले शनिबार शक्ति प्रदर्शन गरेका छन्। सो प्रदर्शनमा प्रचण्ड–नेपाल पक्षका नेकपा नेता योगेश भट्टराईले ओलीले संसद् विघटन गरेर आफैंले बनाएको संविधान कुल्चिएका बताएका छन्। बिर्तामोडमा आयोजित विरोध सभामा उनले भने, 'विगतका प्रधानमन्त्रीले संसद् विघटन गरेका कारण संविधान निर्माण गर्ने बेलामै संसद् विघटन गर्न नसक्ने व्यवस्था राखिएको छ। तर प्रधानमन्त्रीले नै त्यसको उल्लघंन गरे।'

उनले थपे, ‘संविधानसभामा पैरवी गर्नेहरू नै अहिले प्रधानमन्त्री संसद् विघटन गर्दा विघटनको अधिकार प्रधानमन्त्रीलाई छ भन्दै खुसी मनाइरहेको देख्दा आश्चर्य लागेर आउँछ,’ दलसम्बन्धी मौजुदा कानुनका आधारमा सूर्य चिह्न र झण्डा आफ्नो पक्षको हुने दाबी गरे।

‘सूर्य चिह्नबाट चुनाव जितेर स्थानीय तहका प्रतिनिधि बनेका केही व्यक्तिको पद खुस्किन सक्छ,’ एउटा चिह्नबाट चुनाव जितेको व्यक्ति अर्को पाटीमा लागेमा स्वतः कारबाही हुने भएकाले दल विभाजनसम्बन्धी कानुन पढ्न स्थानीय तहका जनप्रतिनिधिलाई उनले अनुरोधसमेत गरेका छन्।

अब प्रधानमन्त्री ओलीको राजनैतिक जीवन समाप्त भइसकेकाले ओली पक्षका कार्यकर्ताले उनलाई धेरै नउकास्न नेता भट्टराईले आग्रह गरे।