नेकपा (प्रचण्ड-नेपाल समूह) ले आज प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गर्दैै छ। यसअघि मंगलबार काठमाडौंसहित देशभर विरोध प्रदर्शन गरेको प्रचण्ड-नेपाल पक्षले अब दोस्रो चरणमा स्थानीय तहदेखि केन्द्रसम्म जनपरिचालन अभियान सञ्चालन गरिने बताएको छ।
संयुक्त रूपमा संघर्षका कार्यक्रम गर्ने विषयमा बुधबार अन्य दलसँग गरिएको छलफलमा तत्काल सहमति नबनेपछि नेकपा प्रचण्ड-नेपाल समूह एक्लैले आज प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध दोस्रो चरणको आन्दोलन सार्वजनिक गर्ने भएको हो।
त्यसका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा यसअघि नै गठित संघर्ष समितिको बैठक बसी दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी छ। यस विषयमा छलफल गर्न समितिको बैठक अहिले बिहान ११ बजे बस्ने तयारी भइरहेको एक नेताले जानकारी दिएका छन्।
दोस्रो चरणका कार्यक्रम वडा तहदेखि केन्द्रसम्म जनपरिचालन गर्ने तयारी नेकपा प्रचण्ड-नेपाल समूहले गरेको छ।