काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पद मात्र खोजेको आरोप लगाएका छन्। उनले ओली पक्षको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। प्रचण्ड माधवलाई कटाक्ष गर्दै उनले भने, केही मान्छेहरू एउटा राम्रो डुंगामा हुनुहुन्थ्यो। तर, उहाँहरूले समातेर अघि बढ्न दिनुभएको थिएन। अहिले डुंगा बढ्यो। तर, उहाँहरू छुट्टिनुभयो।’
उनले सरकारले राम्रो काम गर्न खोज्दा कामै गर्न नदिएको आरोप लगाए। ‘गणतन्त्र र महिलाहरूप्रति उहाँको धारणा कस्तो रहेछ उहाँको नाराले देखाइसक्यो’ उनले भने, ‘उहाँको ध्यान पदमै छन्। अरूलाई अपमान गर्नेमा ध्यान छ। अनि कसरी देशप्रति ध्यान जान्छ।’ प्रचण्ड पक्षले पार्टी एकताको विरोधमै रहेको बताए। कम्युनिस्ट एकता कायम गर्नका लागि धेरै प्रयास गरेको भए पनि सम्भव नभएको आरोप लगाए।
‘मैले प्रचण्डसँग छोरी जिताउनका लागि कांग्रेससँग मिल्नुभयो। मतपत्रसँगै गणतन्त्र पनि च्यात्नुभयो। तर, तपाईलाई धेरै फाइदा भएन। त्यसैले हामी सहमतिमा एकतामा अगाडि जाऔँ भनेर पार्टी एकता गरौँ भनेँ’ उनले भने, ‘मैले ४० प्रतिशत दिने भएपछि उहाँ सहमतिमा आएर एक भएर चुनाव लडेका थियौँ।’
प्रचण्डले आफूसँग मिलेर चुनाव जितेपछि पनि कांग्रेससँग मिलेर सरकार बनाउन खोजेको आरोप लगाए। ओलीले प्रचण्डलाई युद्धकालमा साथ दिएका कालीबहादुर खामहरु कता गए भन्दै प्रश्न गरेका छन् ।
उनले लोकेन्द्र विष्टको मन समेत प्रचण्डले भाँचेको बताए । ओलीले भने,“प्रचण्डले लोकेन्द्रको मन भाँचे । नत्र उनले किन कालो धान, ड्रागन फुड किन रोप्थे । युद्धका लडेकाहरुको शरीरमा गोली अझै छन् । प्रचण्डलाई उनीहरुको पीडा के थाहा ।”
प्रचण्डको ध्यान कसरी सत्ता कब्जा गर्ने कसरी हत्याउने मात्र हुने गरेको आरोप लगाए। उनलाई सुधार्न प्रयास गरे पनि नसकेको उनले बताए।