ओली अझै पनि बयलगाडामै छन् : प्रचण्ड

ओली अझै पनि बयलगाडामै छन् : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली अहिले पनि संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र विरोधी भएको आरोप लगाएका छन्। मंगलबार प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौँको भृकुटीमण्डपमा भएको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूले ओली सच्चिए भनेर विश्वास गरेको बताए।

‘मलाई थाहा थियो, उहाँ गणतन्त्रको पक्षमा हुनुहुन्थेन, उहाँको सिद्धान्त बयलगाडाको सिद्धान्त हो, । उहाँ माक्र्सवादी होइन भन्ने आम जनतालाई पनि थाहा छ। उहाँ संघीयता, धर्मनिरपेक्षका पक्षमा हुनुहुन्थेन भन्ने मलाई थाहा थियो’, प्रचण्डले भने, ‘आँधीहुरी आयो अनि संघीय गणतन्त्रलाई मानिदिनु पर्यो भन्नुहुन्थ्यो। तर, उहाँ बयलगाढामै हुनुहुदो रहेछ। संघीयता, धर्मनिरपेक्षता विरोधी नै हुनुहुँदो रहेछ। म क्षमा माग्छु, उनी सच्चिए भनेको त सच्चिएका रहेनछन्।’

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीबाट यति छिटो संविधानमाथि प्रहार हुन्छ भनेर आफूले नसोचेको बताए। उनले प्रधानमन्त्री ओलीले लोकतन्त्रका नाममा तानाशाह बनेर देशलाई भड्खालोमा हाल्न खोजेको आरोप लगाए।

‘उहाँले भन्दै आएको लोकतन्त्र कति निरंकुश रहेछ भन्ने देखियो। उहाँ निरकुंश तानाशाह हो, जसले देशलाई भड्खालोमा हाल्न खोजेको छ’, प्रचण्डले भने।