कोरोनाको नयाँ प्रजाति नेपालमा भेटिएको हो ?

कोरोनाको नयाँ प्रजाति नेपालमा भेटिएको हो ?

काठमाडौं । बेलायतबाट नेपाल फर्किएकाहरुमध्ये केहीमा संक्रमण देखिए पनि नयाँ प्रजातिको भाइरस संक्रमण हो वा होइन भन्ने पुष्टि भएको छैन । हो वा होइन भनि यकिन गर्न जिन सिक्वेन्सिङ गर्नुपर्ने हुन्छ । त्यसैले जिन सिक्वेन्सिङको प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ को नयाँ प्रजाति भेरियन्टको उद्गमस्थल बेलायतबाट केही दिनअघि आएकाहरुलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निगरानीमा राखेको छ । बेलायतबाट फर्केका मध्ये केहिमा संक्रमण पुष्टि भएको छ । पुष १ गते पछि बेलायतबाट नेपाल आएका २ सय ७७ जना सबैलाई क्वारेन्टिनमा नै बस्न भनिएको छ । ती मध्ये पछिल्लो समयमा नेपाल भित्रिएका १४ जनालाई भने कोभिड संकट व्यवस्थापन केन्द्रले नै संस्थागत क्वारेन्टिनमा राखेको छ । बेलायतबाट आएका मध्ये केहीमा संक्रमण देखिएको छ । तर उनीहरुमा नयाँ प्रजातिको भाइरसको संक्रमण भएको हो भन्ने पुष्टी भने भएको छैन । हो होईन पत्ता लगाउन जीन सिक्वेन्सिङ गर्नुपर्ने भएकोले त्यस्को प्रक्रिया अघि बढाईसकिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले जानकारी दिए ।

मन्त्रालयले यसअघि नै सूचना जारी गरी यही पुस १ गतेदेखि ७ गतेभित्र बेलायत अथवा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका सबैलाई अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्न अनुरोध गरेको थियो । नयाँ प्रजातिको भाइरसका बिरामीको लक्षण पनि कोभिड–१९ कै जस्तै हुने चिकित्सकको भनाई छ ।

यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ५९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । जस्मा महिला २ सय ५२ र पुरुष ४ सय ७ जना रहेका छन् । ५ हजार ५ सय ७८ जनाको पीसीसीआर परीक्षण गर्दा ६ सय ५९ जना संक्रमित फेला परेका हुन । काठमाण्डौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा २ सय ७८ जना संक्रमित भएका छन् । काठमाण्डौंमा २ सय ७ जना लिलितपुरमा ४९ जना र भक्तपुरमा २२ जना संक्रमित थपिएका छन् ।

कैलालीमा पनि ६० जना नयाँ संक्रमित थपिएका छन् । महोतरी, सर्लाही, सिराहा, मुगु, रुकुम पश्चिममा भने कुनै पनि संक्रमित छैनन् । पछिल्लो २४ घण्टामा ७ सय १८ जना निको भएका छन् । त्यसैगरी कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ सय ३२ पुगेको छ ।