केपी ओलीको सरकार विघटन भएको हो, संसद होइन : प्रचण्ड

केपी ओलीको सरकार विघटन भएको हो, संसद होइन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा प्रचण्ड–माधव नेपाल पक्ष)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार विघटन भएको तर संसद जीवितै रहेको बताएका छन्। यही पुस ५ मा संविधानमा नभएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले आफूहरुलाई जनतासँग फेरि जोडिने मौका दिएको बताए।

‘केपी ओलीको सरकार विघटन भएको हो, संसद जीवितै छ’, पेरिसडाँडास्थित पार्टी कार्यालयमा आज आयोजित एक कार्यक्रममा उनले भने, ‘आफूचाहिँ इतिहासको कलंकको टीका लगाउनुभयो, हामीलाई चाहिँ जनतासँग जोडिदिनुभयो।’ २०४७ सालको संविधानले संसद विघटन गर्ने अधिकार दिएकै कारण सरकारहरु छोटो समयमात्रै टिकेको बताउँदै त्यही देखेर ०७२ सालमा संविधान बनाउँदा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिने व्यवस्था गरेको उनको भनाइ छ।

त्यतिबेला अर्थात् दोस्रो जनआन्दोलनको सफलतापछि प्रतिनिधिसभाभित्र सरकार गठनको विकल्प हुँदासम्म विघटन गर्न नहुनेमा स्वयं ओली पनि सहमत भएको बताउँदै उनले सदनभित्र विकल्प हुँदासम्म सरकार गठन हुनसक्ने अवस्था हुँदाहुँदै ओलीले संसद विघटन गरेको बताए।तीन करोड नेपाली जनताको सार्वभौम अधिकारमाथि ओली सरकारले प्रहार गरेकोले यसविरुद्ध डटेर लाग्ने प्रचण्डले बताए।