प्रतिनिधिसभा विघटनविरुद्ध देशभर प्रदर्शन गर्न देउवाको अपिल

प्रतिनिधिसभा विघटनविरुद्ध देशभर प्रदर्शन गर्न देउवाको अपिल

काठमाडाैं । कांग्रेस सभापति शेरबहादुर देउवाले पुस १३ गते प्रतिनिधिसभा विघटनविरुद्ध देशैभर प्रदर्शन गर्न अपिल गरेका छन्। शनिबार अपिल जारी गर्दै सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध प्रदर्शन गर्न आह्वान गरेका हुन्।

प्रतिनिधिसभा विघटनको घटनालाई पार्टीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेकाले त्यसविरुद्धको आन्दोलनमा सहभागिताका लागि सभापति देउवाले सबैलाई आग्रह गरेका छन् । उनले संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावनाविपरीतको कार्यविरुद्ध कांग्रेस सम्पूर्ण रूपले एकमतका साथ उभिएको समेत स्पष्ट पारेका छन्।

गत आइतबार सरकारले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले यसलाई असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादउन्मुख भनेको थियो । तर,  सभापति देउवाले असंवैधानिक कदमबाट विघटित प्रतिनिधिसभा पुनर्स्थापनाका विषयमा भने नबोल्न नेताहरूलाई निर्देशन दिएका छन् । 

सभापति देउवाले पार्टीले आधिकारिक रूपमा प्रतिनिधिसभाको पुनर्स्थापना विषयमा कुनै धारणा नराख्ने स्पष्ट पारेका छन् । अदालतको निचोडपछि मात्रै पार्टीले रणनीति बनाउन सक्ने भन्दै अदालतको फैसला कुर्नुपर्ने उनको भनाइ छ। 

शुक्रबारको केन्द्रीय समिति बैठकमा सभापति देउवाले विरोधका क्रममा पार्टीले सरकारको असंवैधानिक कदमको विरोध गर्ने, तर प्रतिनिधिसभा पुनर्स्थापनाको माग नगर्ने स्पष्ट पारे । बैठकमा  प्रतिनिधिसभाको पुनर्स्थापनाको एजेन्डा उठाउने या नउठाउने भन्नेमा नेताहरूबीच भनाभन भएको थियो ।