काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहान हिजो-अस्ती भन्दा निकै चिसो महसुस गरिएको छ। बिहीबार भन्दा आज तापक्रम दुई डिग्री घटेकाले उपत्यकामा चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार उपत्यकाको आकाशमा बादल हटेसँगै चिसो बढेको हो। आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ। हिजो उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो।आज दिउँसो काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १९ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ।
यसैबीच हुम्लामा कर्णाली नदीको पानी चिसोको कारण जम्न थालेको छ। हुम्लाको नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमाक्षेत्र हिल्साको कर्णाली नदीमा बरफ जमेको हो। नदीको पानी चिसोले जम्दा हिल्सामा रहेका सुरक्षाकर्मी र घर कुरुवालाई समस्या भएको छ।
चिसो अत्यधिक बढेको हिल्सामा हाल तापक्रम घटेर माइनस १५ डिग्री सेल्सियस पुगेको छ। नाम्खा–५ हिल्सा क्षेत्रको कर्णाली नदीमा बरफ जमेको सशस्त्रका इन्चाजै प्रहरी निरीक्षक सुरज केसीले जानकारी दिए। नदीको पानी बरफ बन्दा नदी नै सेताम्मे देखिन थालेको।