४ वर्ष यताकै उच्च बिन्दुमा नेप्से, भयो ऐतिहासिक कारोबार

४ वर्ष यताकै उच्च बिन्दुमा नेप्से, भयो ऐतिहासिक कारोबार

काठमाडौं । सेयर बजार चार वर्ष यताकै उच्च बिन्दुमा पुगेको छ। नेप्से सूचक सुधार हुने क्रममा बिहीबार नेप्सेको इतिहासमै सबैभन्दा बढी कारोबार भएको छ। ३६.३२ अंकले सुधार भएको सेयर बजारमा ६ अर्ब ११ करोड रुपैयाँको कारोबार भएको हो। दुई महिना अगाडि पौने ५ अर्बको कारोबार भएको थियो। पछिल्लो समय भइरहेको सुधारले कारोबार रकम बढिरहेको हो। 

बिहीबार केही कम्पनीको मूल्यमा उछाल आउँदा समग्र कारोबार नै बढेको हो। दोस्रो बजारमा सबैभन्दा महँगो युनिलिभरको १४४० कित्ता कारोबार भएको छ। युनिलिभरको मात्रै २ करोड ८६ लाख कित्ता कारोबार भयो। त्यस्तै पछिल्लो समय उछाल आएका साल्ट ट्रेडिङ, विशाल बजार, नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, बोटलर्स नेपाल जस्ता कम्पनीका कारण कारोबार रकम बढी भएको हो। अधिकतम कारोबार हुनेमा नेपाल पुनर्बीमा कम्पनी, हिमालयन डिस्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स रहेका छन्। 

नेपाल पुनर्बीमाको मात्रै ४१ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ। थोरै सेयर पुँजी भएका तथा वित्तीय अनुशासन पालना नगर्ने कम्पनीको मूल्यमा उछाल आउदा दोस्रो बजार सुधार भैरहेको छ। सबैभन्दा राम्रा कम्पनीहरुको सूचक सेन्सेटिभ इन्डेक्स घट्दा पनि यस्ता कम्पनीका कारण समग्र सेयर बजार सुधार भैरहेको छ। यो दोस्रो बजारको स्वस्थकर सुधार होइन। कर्नरिङ गरेर कम्पनीको मूल्य बढाउने र सोझा साझा लगानीकर्ता फस्ने जोखिम बढेको छ।  

बिहीबार नेप्से सूचक २।०८ प्रतिशतले बढेको छ। सूचक सुधार भएर  १७७८।१३ अंकमा पुगेर रोकिएको छ। चार वर्ष अगाडि नेप्से सूचक १७६८ अंक थियो। त्यसयता तीन वर्षसम्म सेयर बजार लगातार ओरालो झरेको थियो। ‍विगत एक एक वर्षदेखि भने सेयर बजार लगातार बढिरहेको छ।

कोभिड महामारीले सूचीकृत कम्पनीको मुनाफा घटेको छ। कतिपय कम्पनी नोक्सानमा गएका छन्। तर दोस्रो बजारमा भने अत्याधिक उछाल आएको छ। १९८ वटा कम्पनीको कारोबार हुँदा १३३ वटा कम्पनीको मूल्यमा भने सुधार भैरहेको छ। १३ वटा कम्पनीको सेयर मूल्य अधिकतम बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ।

सबैभन्दा धेरै व्यापार समूहको सूचक ९।९४ प्रतिशतले बढेको छ। त्यस्तै नोक्सानमा गएका होटलकै सूचक भने ९।३८ प्रतिशतले बढिरहेको छ। तर सबैभन्दा धेरै हिस्सा रहेको वाणिज्य बैंकको सूचक भने २ अंकले बढेको छ।