राष्ट्रिय फूटबल टोलीको क्लोज क्याम्पमा रहेका ४ जना खेलाडीलाई कोरोना संक्रमण

राष्ट्रिय फूटबल टोलीको क्लोज क्याम्पमा रहेका ४ जना खेलाडीलाई कोरोना संक्रमण

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबाररदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएको जनाएको छ । 

कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन् । नेपालले बंगलादेशसितको मैत्रीपूर्ण खेलका लागि बिहीबारदेखि प्रशिक्षण शुरु गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरु भएको प्रशिक्षणमा ३० खेलाडी उपस्थित भएका थिए ।

नेपालले बंगलादेशसित ढाकास्थित बंगबन्धु रंगशालामा पहिलो मैत्रीपूर्ण खेल यही कात्तिक २८ गते तथा दोस्रो मैत्रीपूर्ण खेल आगामी मङ्सिर २ गते खेल्ने तय भएको एन्फाले जनाएको छ । 

एन्फाले खेलाडीलाई त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखेको छ । प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले एन्फालाई अनुमति दिएको हो ।

नेपालले बाल गोपाल महर्जनको नेतृत्वमा तयारी शुरु गरेको छ । मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेकाले एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो ।

टोलीको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन् ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।