रहेनन् बीपीवादी रामबाबु !

रहेनन् बीपीवादी रामबाबु !

विख्यात लोकतन्त्रवादी नेता खनुपरुदेप्रकाहा (रामबाबु) प्रसाइँको ९९ वर्षको उमेरमा हिजो निधन भयो । रामबाबु नेपाली कांग्रेसको पहिलो पुस्ताका नेताहरूमध्ये आज हाम्रो साथ रहेका सार्‍है थोरै जनामध्ये एक हुनुहुन्थ्यो । पार्टीकोकेन्द्रीय नेतृत्वमा पुगेकाहरूमध्ये त सायद एक्लो । उहाँको निधनले नेपाली कांग्रेसको त्यो गौरवशाली पुस्ताको अन्तिम निशानी समेत मेटिएको छ ।

रामबाबुको व्यक्तित्व विलक्षण थियो । जीवन र जगतलाई हेर्ने नितान्त निजी दृष्टिकोण भएका, आफ्नो धूनमा पक्का, उहाँले आफ्नो सुदीर्घ जीवनका एक एक क्षण आफ्नै शर्तमा बिताउनु भयो । आफूलाई चित्त नबुझेको कुराको तुरुन्तै प्रतिवाद गर्नसक्ने क्षमता थियो उहाँमा । उहाँमा भएको दृढ आत्मविश्वासले उहाँलाई आफूले तय गरेका शर्त अनुसार नै आफ्नो जीवनको यात्रा पूरा गर्ने असाधारण व्यक्तिका रूपमा कीर्तिमान राख्न सघाएको थियो भन्न सकिन्छ । उहाँलाई ठूलो परम्पराभञ्जकका रूपमा पनि लिन सकिन्छ । आफ्नो मात्र होइन उहाँले छोराछोरीहरूको नाम समेत सामान्यत: अनौठा लाग्ने खालका राख्नु भएको छ । टोरुप ! पहाडे हिन्दु क्षेत्री परिवारको उहाँको स्वास्थ्यकर्मी छोराको नाम !

नेपाली कांग्रेससँग मोहभङ्ग भएपछि उहाँले वीपीको नाम जोडिएको नेपाली कांग्रेस (वीपीवादी) नामको एउटा सानो राजनीतिक पार्टीरूपी दोकान पनि खोल्नु भयो । तर त्यस सिलसिलामा उहाँले ज-जसको साथ र सहयोग लिनु भएको थियो तीमध्ये एकजना पनि काम लाग्ने खालको थिएन । आ-आफ्ना क्षेत्रमा असफल साबित भइसकेका ती व्यक्तिहरूबाट कुनै पनि प्रकारको राजनीतिक अभियान अघि बढ्न सम्भव थिएन । अन्तत: त्यो पार्टी कता हराएर गयो कता, पत्तै भएन ।

उहाँले प्रसाइँ कुलको उहाँको बान्धव भएकाले हो वा किन हो, आफू र पत्नीको नामका शुरूका अक्षरहरू राखेर साहित्यिक प्रतिष्ठान खोलेका नरेन्द्रराजलाई नेपाली साहित्यको उन्नयनका कार्यक्रमहरूमा खर्च गर्नेगरी १ करोड भन्दा बढी रकम दिएर एउटा कोष खडा गर्न सघाउनु भएको छ । नरेन्द्रराज प्रसाइँले रामबाबुले दिएको त्यो रकमको ब्याजबाट प्राप्त हुने पैसालाई विभिन्न पुरस्कारका नाममा जसरी आफ्नो मण्डले महन्त्याइँलाई मजबुत पार्न खर्च गरिरहेका छन् त्यो सबैका सामुन्ने छर्लङ्ग भएकै कुरा हो । पार्टी खोल्दा साथ लिएका व्यक्तिहरू र १ करोड रूपैयाँ अनुदान दिन छानेको नरेन्द्रराज प्रसाइँको अनुहारलाई हेर्दा रामबाबुलाई उहाँको ख्याति अनुसार "स्मार्ट" मान्ने कि नमान्ने कुरामा जो-कसैको मनमा पनि द्विविधा पैदा हुनसक्छ ।

रामबाबु र मेराबीच निकट सम्बन्ध थिएन । म किशुनजीको जीवन-कथामा आधारित उपन्यास "एक्लो नायक" लेखिसकेर त्यसको प्रकाशनका लागि रकम जुटाउने क्रममा उहाँलाई पनि अनुरोध गर्ने विचारले प्रिय भाइ लोकेश ढकालका साथमा उहाँको सुकेधारा नजिकको घरमा गएको थिएँ । उहाँले हामी दुई भाइका कुरा बडो चाख मानेर सुन्नु भयो, किशुनजीलाई साहित्यमा उतार्ने मेरो प्रयत्नको प्रशंसा पनि गर्नु भयो तर आफूले भएजति सम्पत्ति पत्नी र छोराछोरीहरूका बीच बाँडिदिएको र अब आफूसँग त्यस्तो काममा खर्च गर्नसक्ने गरी कुनै रकम नभएकोले मलाई सहयोग गर्न आफ्नो असमर्थता पनि जाहेर गर्नुभयो । उहाँको स्पष्टवादिताबाट म धेरै प्रभावित भएँ । हामीहरू ७२ सालको मंसिर महिनाको त्यो एकदिन प्रसाइँ निवासमा ४ घण्टा भन्दा केही बढी समयसम्म बस्यौँ । उहाँले किशुनजीसँगका केही संस्मरण सुनाउनु भयो जुन एक्लो नायकको अन्तिम सम्पादनका क्रममा धेरै उपयोगी सामग्री साबित भएको थियो ।