अस्ट्रेलियामा बढ्दो नेपाली विद्यार्थीको आत्महत्या

अस्ट्रेलियामा बढ्दो नेपाली विद्यार्थीको आत्महत्या

सिड्नी । लाखौ खर्च गरेर बिभिन्न भिषामा नेपालबाट सपना, अवसर र पीआरको खोजिमा अस्ट्रेलिया आउने गर्छन धेरै नेपाली ।  कतिका सपना साकार हुन्छन त कतिको बिना सासको शरीर एनआरएनको सहयोत तथा चन्दाबाट उठेको रकमबाट बाकसमा पोको परेर नेपालमै फर्किन्छ । 

आफ्नो भाग्य चम्काउन अस्ट्रेलिया आउनेहरुको लर्को अझै पनि सकिएको छैन ।  त्यहि भएर पनि होला आजकाल हामी नेपाली समुदायको उपस्थिति अस्ट्रेलियाका प्राय सबै राज्यमा बाक्लै हुने गरेको छ ।  नेपाली बस्ति बढेसँगै ठगि, आपराधिक क्रियाकलाप अनि आत्महत्या पनि उतिकै बढ्दै गइरहेको देख्न सकिन्छ। यस्ता एक पछि अर्को घटनाहरु सेलाउने क्रम जारि नै छ ।

बितेका केहि महिना यता अस्ट्रेलियामा कोरोनाको कहरसँगै नेपाली युवाहरुको आत्महत्याका घटना अरु समयको भन्दा  बढेका देखिन्छ । एक महिनामा मात्र तीन नेपाली युवाले मानसिक समस्याका कारणले आत्महत्या गरेका छन् । 

महिना दिन अघि सिड्नीमा नेपालबाट आएकी एक युवतीले आफ्नै कोठामा आत्महत्या गरिन।  केहि हप्ता अघि एडिलेड शहरमा ललितपुरका घिमिरे थरका एक जना युवाले आफ्नै घरको ग्यारेजमा पासो थापेर देह त्याग गरे। त्यसको एक हप्ता बित्न नपाउँदै सिड्नीको फरक फरक दुइ ठाउँ टेम्पे पार्क र लिडकम्ब ट्रेन स्टेशनमा दुई जना युवाले आत्महत्या गरे।  

सही मार्गदर्शनको अभाव, फरक परिवेश, अलग सोच अनि आर्थिक अभावका कारणले गर्दा धेरै नेपालीले आत्महत्या गर्दछन । नेपालबाट आउँदा झोला भन्दा पनि  ठूला ठूला सपना बोकेर अस्ट्रेलिया आइसकेपछि त्यो सपना पुरा हुन नसक्नुको पिडाले यो अपराध निम्ताएको हो भन्दा फरक पर्दैन । 

आफ्ना समस्या सुल्झिने ठाउँ वा संस्था नपाउनु, र आवश्यक पर्दा उपचार पनि गर्न नसक्ने  हुँदा नेपाली विद्यार्थीहरु मानसिक समस्यामा परिरहेका छन् । 

समस्याको सिर्जना 
देशको अस्थिर अवस्था, शैक्षिक क्षेत्रमा नभएको प्रगति, पारिवारिक स्थिति, धन कमाउने आशा र अस्ट्रेलियाबाट साथीभाईले  फेसबुकको भित्तामा हालेका अस्ट्रेलियाका सुन्दर दृश्यका साथ नेपाली बिद्यार्थी जसरि जुन तरिकाले भए पनि अस्ट्रेलिया आउने होडमा हुन्छन ।  अनि त्यस आशालाई घिऊ थप्दिने काम गर्छन  नेपालमा खोलिएका बिभिन्न शैक्षिक परामर्श संस्थाहरुले ।  ठुला ठुला ब्यापारिक बिज्ञापन र अस्ट्रेलिया आइसकेपछि डलर फल्ने रुखको किम्बदन्ती काहानीले विद्यार्थी मोह जालमा पर्छन । 

बिना कुनै अनुसन्धान सम्पूर्ण जिम्मा परामर्शदाता लाई दिन्छन ।  परामर्श संस्थाहरुले कमिसनको लोभमा प्रतेक सेमेस्टरको सत्र हजार अस्ट्रेलियन डलर तिर्ने कलेजमा भर्ना गरिदिन्छन।  घर, बारी बन्धकी राखेर छ महिना अर्थात एक सेमेस्टरको फि तिरेर त आउँछन अस्ट्रेलिया, अनि जब अर्को सेमेस्टरको पैसा तिर्ने दिन नजिकिन्छ, खान र बस्न गाह्रो हुन्छ  अनि सुरु हुन्छ मानसिक रोग। एक बर्ष अघि बिराटनगर बाट ब्याचलर सकेर मास्टर गर्न आएका एक विद्यार्थी भन्छन ूमलाई कन्सल्टेन्सीले गाडी मात्र सिकेर जाउ भन्या भए पनि यहाँ आएर क्लिनिङ्गको काम चाडै पाउथे, कति समय त बिना काम नै बस्नु पर्यो पछि यहिको कन्सल्टेन्सीको एउटा दाईले जागिर लाइदिए ।ू  

विद्यार्थी भएर अस्ट्रेलियामा जाँदा कति कुरामा ध्यान दिनुपर्छ, कुन कुराले विद्यार्थीलाई मर्का पार्न सक्छ र विद्यार्थी जीवनमा के कस्ता उतारचढाव हुन सक्छन्, के सिप सिकेर जान उचित हुन्छ भनेर यसको गुण र दोषका बारेमा परामर्श संस्थाहरुले बिद्यार्थीलाई नभन्नु नै समस्याको सिर्जना हुने मुख्य बिन्दु हो ।   

पीडा 
नेपालबाट अस्ट्रेलिया आउने अधिकांस विद्यार्थीहरु प्राय बैंक कर्जामै आएका हुन्छन्।  सुरुमा आउँदा घर परिवारले सम्पूर्ण जिम्मेवारी लिए पनि त्यसपछिका दिन भने आफैले कमाएर आफ्नो जीविकोपार्जन गर्नु पर्छ । सुरुमा आएर अस्ट्रेलियामा कुनै सिप छैन भने गर्ने भनेकै किचन सहयोगी वा  क्लिनिङ्ग काम हो, त्यो पनि यो कोभिड माहामारीका कारण केहि समय त ठप्प जस्तै थियो ।  यी दुई ओटै काम गाह्रो काममा गनिन्छ।  बिहान देखि बेलुकी सम्म यहि काम गर्दा कति बिद्यार्थीमा शारिरिक सकस पनि पर्न जान्छ। 

अस्ट्रेलियन सरकारको नियम अनुसार अन्तरास्ट्रिय विद्यार्थीले बीस घन्टाभन्दा बढी कानुनी रूपमा काम गर्न पाउँदैनन , त्यसमा पनि कलेजरयुनिभर्सिटिको फिस तिर्नुपर्ने, भाडा, खाना खर्चले झन् समस्या थप्छ । अनि पढ्ने गरेको शैक्षिक संस्थाको एसाइन्मेन्ट समयमै गर्नुपर्ने प्रेसर, यदि नगरे सम्बन्धित विषयमा फेल हुनुपर्ने। साथ साथै परिवारले छोरा वा छोरी अस्ट्रेलिया छन् भनेर केहि आशा राख्ने।  यिनै समस्याहरूलाई पनि विद्यार्थीले राम्रोसँग व्यवस्थापन गर्न सकिएन भने पनि मानसिक समस्यामा पुग्न सकिन्छ।  

आत्महत्या गर्नुको मुख्य कारण ?
ठ्याक्कै यहि कारणले गर्दा अस्ट्रेलियामा रहेका नेपालीले आत्महत्या गर्छन भन्ने त छैन तर पनि गरिबी, पारिवारिक कलह, अधुरो प्रेम, आर्थिक अभाव र जीवनमा असफलताजस्ता मानसिक तनावका कारण प्रायले आत्महत्या गरेको देखिन्छ । नेपालबाट अस्ट्रेलिया आउने अधिकांसले उच्च ब्याजमा ऋण लिएर आउने र सोचेको अनुसार लगानी परिवारलाई भुक्तानी  गर्न नसक्दा पनि यस्ता घटना घटेका थुप्रै उदाहरण छन् । यस्तै उच्च जीवन शैली कायम राख्न नसक्दा, व्यापारिक घाटा, आर्थिक समस्या, आफन्तको मृत्यु,आत्मसम्मान घट्दै गएको अवस्थामा पनि आत्महत्या गरेको पाइन्छ । एक्लोपन, गल्ती वा काम नपाएर गरिने गलत कार्यले अपराध बोध, ज्यादा महत्वकांक्षा, प्रेममा धोका, दीर्घरोगी, नकारात्मक सोच, महिलाको अस्तिवमा पर्ने चोट पीडाहरु पनि आत्महत्याको कारण रहेको देखिन्छ । यसरी समस्या देखिने तर समस्याको समाधान गर्न कसैले सहयोग नगर्दा कतिपय मानिसहरू आफ्नो जीबन आत्महत्याद्वारा समाप्त परेको भेटिन्छ ।

सामाजिक संस्थाले  केहि कदम चालेको छैन  ?
खासमा झुट नलेख्ने हो भने अस्ट्रेलियामा नेपालको हरेक जिल्ला, हरेक जात, हरेक राजनीतिक पार्टीबाट नामकरण भएका थुप्रै संस्था छन, मात्र कुनै(कुनैले बिद्यार्थी समस्यालाई आफ्नो संस्थाको अग्रपंतिमा राखेका छन् तर बाँकि सबै ब्यापारमूखी भएको देख्न सकिन्छ ।  केहि हद सम्म अस्ट्रेलियामा रहेको एनआरएनले बिद्यार्थीहरुको लागि केहि सहयोग गरेको देखिन्छ । 
एनआरएनले बेला बखतमा मानसिक स्वास्थ्य सम्बन्धि परामर्श, बिभिन्न सिप मुलक कार्यक्रम गर्ने, कसैलाई समस्या परेमा आफ्नो कोष वा व्यक्तिगत तवरबाट सहयोग गर्ने, काम खोजिदिने अनि मृत शरीरलाई नेपाल पठाउन चन्दा उठाएर किन नहोस प्रत्यक्ष सहयोग गर्ने गरेको छ। 

अनि नेपाली राजदुतावास ?
नेपाली राजदुतावास दायित्वहीन अवस्थामा छ।  अहिले सम्म दुतावासको पहलमा बिद्यार्थीलाई प्राथमिकतामा राखेर कुनै पनि कार्यक्रम गरेको देखिदैन ।  
      
अस्ट्रेलियामा ६३ हजार नेपाली विद्यार्थी उच्च अध्ययनमा रहेको अध्यागमनको तथ्यांकबाट देखिन्छ । समय संग(संगै नेपाली विद्यार्थीको बाहुल्यता बढदै गर्दा समस्या पनि उतिकै बढेको देखिन्छ  । त्यसमाथि पनि केहि  समय देखि  कोरोनाको कहरका कारण धेरै विद्यार्थीहरुले आफुले गरिरहेको काम गुमाएको देखिन्छ। ।