कुल पोखरेललाई सम्झेर

कुल पोखरेललाई सम्झेर

कान्तिपुर टेलिभिजन 'अन एयर' भएको एक महिना भएको थियो । समाचार पढ्न सिँढी चढ्दा लडेर मेरो घुँडा नराम्ररी फुस्कियो ।  डा. चक्रराज पाण्डेले सर्जरी गरेर जोडजाड गर्दिनु भयो । थिएटरमा लानुअघि सोध्नुभयो, 'केही कन्सर्टहरु त छैन ?'  मैले भनें। '२ हप्तापछि भृकुटीमण्डपमा ।'

उहाँले 'ल ठिक छ उभ्भिने बनाइदिन्छु' भन्नुभयो, म दंग । सर्जरीपछि होश आयो । बेडको छेउमा बसेको थियो कुलप्रसाद ।  'ल ल केटोलाई होस आएछ । ल अब सँगै तताउनु पर्छ ब्रो कन्सर्टमा,' मुसुक्क हाँस्दै दियो केटोले ।

लिनेनको कमिज, सुरवाल र चप्पल, कपाल पुरै स्पाइक, झोला हमेसा साथमा हुन्थ्यो । रेबन चश्मा लण्डनबाट फर्कंदा लिएर आएको थियो । 'ब्रो यो त ओर्जी हो नि भनिरहन्थ्यो,'र कताकता ब्रिटिस शैलीमा अंग्रेजी पनि दिन्थ्यो ।

साँझ भएको थियो । राति को कुरुवा बस्ने भनेर बुबाले आमासँग कुरा गर्दै हुनुहुन्थ्यो । त्यतिबेलै कुलले भन्यो, 'ल मेरो के काम त, खुरुक्क घर जानुस्, बरु मलाई फोन गर्नुस्, म खाना लिन आउँछु, मासुभात बनाउनु है ।'

कुलले आफ्नो गिटार लिएर आयो । ऊ देब्रे हातले गिटार बजाउँथ्यो । किन देब्रे हातले त्यो प्रसंग अर्को लेखमा भनुम्ला । अनि शुरु भयो उसको गीत । उसको एउटा निकै चर्चित गीत थियो, 'सुन मेरी मायालु ।' त्यो गीत गायो र मैले सोधें, 'ब्रो यो सुन मेरी मायालुमा सुन भन्ने शब्दको प्रयोग किन ?'

'सुनाउन भन्या हो ?' उसले मुसुक्क दिँदै भन्यो, 'डि ए ब्रो सुन भन्ने मेरो पहिलाको मायाको नाम हो, सुनाखरी ।' पोखरामा स्कुल पढ्दा उसले मनपराएकी केटी । एकचोटि पोखरा कन्सर्टमा जाँदा उसले सुनाखरीलाई खोज्न पुरै पोखरामा दौडायो । पहेलो रंगको हार्टफोर्ड डर्टबाइक चलाउँथ्यो । नभेटेपछि निराश भएको थियो ।

त्यो बेला फेसबुक भएको भए सुन तुरुन्तै भेटिन्थिन् होला । ऊर्जा, उमंग, हँसिलो र संगीतमा चुर्लुम्म डुब्ने मान्छे थियो कुल । त्यसैले होला बिजनेस म्यानेजमेन्ट पढ्न लण्डन गएको केटो संगीत पढेर घर फर्कियो । भावपूर्ण श्रद्धाञ्जलि!