समायोजनमा असन्तुष्ट अधिकृतको मन्त्रालय अगाडि प्रदर्शन

समायोजनमा  असन्तुष्ट अधिकृतको मन्त्रालय अगाडि प्रदर्शन

काठमाडौं : समायोजनमा परेका असन्तुष्ट अधिकृतहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि प्रदर्शन गरेका छन् । ब्याट ३०, ३१, ३२ र ३३ का अधिकृतहरुले मन्त्रालय अगाडि केहीबेर उभिएर विरोध जनाएका हुन् । सचिव यादव कोइरालालाई विरोध पत्र बुझाउन खोजे पनि समय नपाएपछि उनीहरुले सहसचिव अधिकारीलाई बुझाएका हुन् ।

कर्मचारी समायोजनका गुनासा नटुंगिदै लोक सेवा आयोगले संघमा नयाँ अधिकृत भर्ना आह्वान गरेकोमा उनीहरुले असन्तुष्टि जनाएका छन् । ‘संघमा दरबन्दी नभएको भनेर हामीलाई समायोजन गरिएको ९ महिना नबित्दै लोक सेवा आयोगमार्फत् गत मंसिर २५ गते ठूलो संख्यामा शाखा अधिकृतको विज्ञापन गरिएको छ ।

असन्तुष्ट अधिकृतहरुका अनुसार निजामती किताबखानाको रेकर्डमा यो बीचमा ८८ जना अधिकृतको मात्र दरबन्दी रिक्त हुने देखिए पनि लोकसेवा आयोगले भने १ हजार ९६ अधिकृतको विज्ञापन खुलाएको छ । सामान्य प्रशासन मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार लोक सेवा आयोगले यही मंसिर २५ गते बिभिन्न सेवा समूहमा १ हजार ९६ अधिकृतका लागि विज्ञापन प्रकाशित गरेको थियो ।

संघमा दरबन्दी नभएको कारण देखाएर आफूहरुलाई स्थानीय र प्रदेश तहमा पठाइएको भन्दै ब्याट ३० देखि ३३ सम्मका अधिकृतहरु असन्तुष्ट भएका छन् । समायोजनको क्रममा अनलाइन आवेदन फाराम भराउँदा कर्मचारीहरुलाई आफू समायोजन हुन चाहेको तह प्राथमिकताका आधारमा रोज्न दिइएको थियो ।

समायोजनको क्रममा पहिलो रोजाइ संघ हुँदाहुँदै पनि प्रदेश र स्थानीय तहमा समायोजन हुन बाध्य आफूहरुलाई पुल दरबन्दीमा राख्न उनीहरुले माग गरेका छन् । ब्याट ३०, ३१, ३२ र ३३ का असन्तुष्ट शाखा अधिकृतहरुले यसअघि आफ्ना मागबारे राज्य व्यवस्था समितिको पनि ध्यानाकर्षण गराएका थिए ।