कांग्रेस बैठक : पौडेल पक्षबाट फेरि पनि बहिष्कार

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज पनि बहिष्कार गरेको छ ।

महामन्त्री डा. शशांक कोइरालाको निवासमा केहीबेर अघि भएको पौडेल पक्षको बैठकले आजको बैठक पनि बहिष्कार गर्ने निर्णय गरेको हो ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहले सहमतिका लागि प्रयास भैरहेको बताएका छन् । तर सभापति शेरबहादुर देउवाले सहमतिका लागि पहल गरे पनि आजको बैठक बहिष्कार गर्ने पौडेल पक्षधर नेताले बताएका छन् ।

एकपक्षीय निर्णय हुन थालेपछि पौडेल पक्षले असहमति जनाएको छ । यसअघि दुई दिनअघिको बैठक पनि पौडेल पक्षले असन्तुष्टि जनाएर बहिष्कार गरेको थियो ।

यसअघि बैठक बहिष्कार गरेको पौडेल पक्षलाई सहमतिमा ल्याउनका लागि सभापति देउवा शनिबार पौडेल निवास बोहोराटार पुगेका थिए ।

दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भनिएको कांग्रेस बैठक अझै सुरु हुन सकेको छैन ।