एक वर्षपछि नेकपाको स्थायी समिति बैठक बस्दै

एक वर्षपछि नेकपाको स्थायी समिति बैठक बस्दै

काठमाडौं : सत्तारूढ नेकपाको स्थायी समिति बैठक एक वर्षपछि बस्दै छ। पार्टी विधानअनुसार स्थायी समिति बैठक तीनतीन महिनामा बस्नु पर्ने बैठक विभिन्न कारण देखाउँदै बैठक बस्न सकेको थिएन।

एक वर्षबीचमा सचिवालयले गरेको संगठनात्मक निर्णय अनुमोदन गराउन, वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन, राजनीतिक प्रतिवेदनअनुसार विधानको प्रस्तावना संशोधन गर्ने प्रस्ताव पारित गराउन र पार्टी कामको ६ महिने कार्ययोजना पारित गराउन स्थायी समिति बैठक बस्न लागेको हो। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार स्थायी समितिअगाडि सचिवालय बैठक बस्नेछ।

सचिवालयले स्थायी समिति बैठकमा छलफलका लागि लैजाने एजेन्डा तय गर्नेछ। मंसिर २३ मा बसेको नेकपा सचिवालयले २९ गतेका लागि स्थायी समिति बैठक तोकेको थियो। मंसिर २७ मा सचिवालय बैठक बस्ने भनिए पनि अध्यक्ष पुष्पकमल दाहालले बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रस्ताव तयार पार्न ढिलाइ भएका कारण बैठक सर्दै आएको थियो।

दुई अध्यक्षबीच स्थायी समिति बैठकमा लग्ने एजेन्डा र दाहालले तयार पारेको राजनीतिक प्रतिवेदनमा केन्द्रित रहेर छलफल भएको बालुवाटार स्रोतले बतायो। एक वर्षपछि बस्न लागेको स्थायी समिति बैठकलाई शीर्ष नेतृत्वले दुई दिनभित्र पार्टीका संगठनात्मक काम र आगामी योजनाको निर्णय लिएर सक्ने तयारी छ।त्यस्तै नेकपाले काठमाडौं उपत्यकामा १५१ सदस्यीय गैर भौगोलिक विशेष प्रदेश किमिटी गठन गर्दैछ। सचिवालय बैठकले कमिटीमा रहने नेताहरूको नाममा निर्णय लिएपछि यो निर्णय सार्वजनिक हुनेछ।