पातलो ज्यान, पाखुरामा बुद्ध र नेपालको चित्र अंकित ट्याटु, आँखामा कालो चश्मा अनी रातो र निलो रङ्ग मिसिएको ५३ नम्बरको रेसिङ्ग बाइक, यति भन्ना साथ पश्चिम अस्ट्रेलियामा सायद सबैले चिन्छन रिकेश बहादुर भण्डारीलाई । प्राय: पश्चिम अस्ट्रेलियामा आयोजना भएका सबै अन्तरास्ट्रिय बाइक रेसिङ्ग प्रतियोगितामा आफ्नो अब्बल कला प्रदर्शन गरेर कुशल बाइक रेसर हुँ भनेर साबित गरिसकेका छन् ।
सात वर्ष अघि बनेपाको ज्ञानकुञ्ज कलेजबाट प्लस टु सकेर ब्याचलर पढ्न अरु विद्यार्थी जसरी नै अस्ट्रेलिया आएका थिए उनी । बाइक रेसिङ्ग प्रति उनको हुटहुटिले आज उनलाई सफल अन्तरास्ट्रिय बाइक रेसरको ट्याग उनको नाम पछाडी झुन्डाईदिएको छ । सानै देखि मोटरसाइकल प्रतिको मोहले आज सम्म पनि उनलाई पछ्याईरहेको छ । स्कुल पढ्दा नजिकका मिल्ने साथीहरु रेस्लिङ्ग र कार्टुन हेर्दा उनी टेन स्पोर्टस च्यानलबाट आउने बाइक रेसिङ्ग कार्यक्रम हेरेर मख्ख हुन्थे । उमेर बढ्दै जादा झनै बाइक प्रतिको लगाभ परिपक्व हुन् थाल्यो रे उनलाई । आज उनी आफैले कमाएर जोडेको विश्व प्रसिद्द महँगा मोटरसाइकल आफ्नो ग्यारेजमा देख्दा, उनी सम्झिन्छन सानो हुँदा बाटोमा अरुले चढेको महँगा स्पोर्टेज मोटर साइकल देख्दा एकदमै डाह लागेर आउथियो, सँगैको साथीले हामी त यस्तो बाइक चढ्न सक्दैनौ यार भनेको अझै पनि उनको कानमा ताजै छ ।
पनौतीको मध्यम वर्गीय परिवारमा हुर्केका रिकेशलाई आफ्ना शोखका विषय त्यो बेला परिवार सामू राख्नु उचित लागेन, त्यही भएर आफु भित्र नै दबाईराखे । नेपालमा हुँदा पनि उनले थुप्रै बाइक रेसिङ्ग, बाइक स्टन्ट प्रतियोगितामा भाग लिएका थिए । २०१४ मा आयोजना भएको रेसमान्डू नामक कार्यक्रममा भाग लिएका थिए तर दुर्भाग्यवस बाइकको अवस्था ठीक नहुदा प्रतियोगिता समयमा क्लज प्लेट उडेको कारणले गर्दा बिचमै रेसिङ्ग बाट बाहिर निस्किएका थिए । त्यो समय सम्झिदा उनको आँखाभरी त्यसै आशु आउछ । उनी भन्छन परिवारले सक्ने सम्मको सहयोग त गरेका हुन् तर के गर्नु, मेरो सोख परिवारको हैसियत भन्दा ठुलो भयो।
बाइक चलाउँदा, प्रतियोगितामा भाग लिंदा छिमेकी र आफन्तले छोरा बिग्रिएको भान आमा बुवालाई गराउदा धेरै पटक गालि चाही खाएका छन् उनले। घरको एक्लो छोरो भएको कारणले गर्दा पनि शरीरलाइ केहि नहोस भन्ने परिवारको भनाइ थियो। नेपालमा चाहेर पनि उनले आफ्नो प्रतिभा देखाउने प्लेटफर्मनै भेटेन्न, बर्षमा एक दुइ वटा कार्यक्रम हुने त्यो नि भृकुटी मण्डप बाहेक कहिँ कतै हुदैन थियो, त्यसमा पनि आयोजकको मनमानि । कुनै समय त उनी र उनका साथीहरु डिप्रेस पनि हुन्थे । सबै छोडेर रेसर बन्छु भनेर त लागे तर माध्यम नै छैन प्रस्तुति देखाउने। चौरीहरु खोज्दै बिना कुनै सावधानीका समानहरु प्रयोग गरेर उनीहरु आफै प्राक्टिस गर्थे रे । पढ्नको लागि अस्ट्रेलिया आइसकेपछि, पढाई, काम सँगसँगै नेपालमा पुरा गर्न नसकेको सपनालाई साकार बनाउने उदस्यका साथ आफु पोख्त हुन् उनले एक वर्ष त नर्मल ट्रयाकमा रेसिङ्ग ट्रेनिङ्ग गरेरै बिताए । त्यस पछि साना साना आफु सुहाउदो रेस प्रतियोगितामा भाग लिन थाले । अलि परिपक्क भैसकेपछि २०१८ मा एउटा प्रतिष्ठित रेसिङ्ग प्रतियोगितामा भाग लिए तर राम्रो पोइन्ट नआएकाले उनी प्रधिस्पर्दाबाट बाहिरिए ।
धेरै पटक प्रतियोगिताबाट बाहिरीन थालिसकेपछि मनमा कति धेरै कुराहरु आउन थाल्यो कि कति रात सुत्न सकेन्न उनी । अस्ट्रेलियामा पैसा कमाइएन भने युनिभर्सिटी फि देखि कोठा भाडा तिर्न गाह्रो हुन्छ। उनलाई त्यस समय सबैभन्दा धेरै आफ्नो परिवारको जिम्मेवारी सम्झना आउन थाल्यो, जिन्दगि यहि रेसिङ्गबाटै चल्दैन जस्तो लाग्न थालिसक्या थियो रे। तर आफुले देखेको सपना जसरी पनि पुरा गर्नु पर्छ भन्ने उनको सिद्दान्त र बुवा, आमा र दिदीको साथले उनले हार खाएन्न। झन् निखारिएर आफ्नो सपना पुरा गर्न तर्फ लागे । कति पटक बाइक क्र्यासमा परे, शरीरमा अनगिन्ती घाउका खतहरु पारे । अनि २०१९ बाट उनको भाग्य उदय हुन् लाग्यो, उनको मेहनतले रङ्ग भर्न थाल्यो ।
पश्चिम अस्ट्रेलियामा आयोजना भएको हिस्टोरिकस मोटरसाइकल कम्पिटिसन अफ वेस्ट्रन अस्ट्रेलियामा भाग लिए । यस प्रतियोगितामा रिकेशले दोस्रो स्थान हासिल गर्दै सिल्भर मेडल हात पर्दै रेसिङ्गको अर्को लेभल अर्थात् पुडियममा पुगेका छन् । अब उनको गन्तब्य भनेको पश्चिम अस्ट्रेलियाको स्टेट च्याम्पियनशिप बाइक प्रतियोगिता जितेर अघि बढ्ने हो । केहि महिनामा आयोजना हुने उक्त च्याम्पियनशिपमा उनको प्रधिस्पर्दा पश्चिम अस्ट्रेलियाकै प्रोफेसनल रेसरहरुसँग हुनेछ। उनी अब आउने रेसिङ्गको लागि दिन-रात नभनी लागिरहेका छन् । उनलाई आफु सँगै नेपाल देशको शान पनि विश्व बजारमा लग्नु छ ।