केजरीवालको कोसिसबाट काठमाडौंले सिक्ला त ?

केजरीवालको कोसिसबाट काठमाडौंले सिक्ला त ?

काठमाडौं । कोरोनाभाइरस संक्रमणको ग्राफ उकालो लाग्दै जाँदा उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा भदौ ३ गते मध्यरातबाट लगाइएको निषेधाज्ञा १७ गतेसम्म लम्ब्याइएको छ । तीन महिनाभन्दा लामो लकडाउन गर्दा पनि कोरोनाभाइरस नियन्त्रणमा असफल बनेको सरकारले निषेधाज्ञाको पहिलो एक साता त्यसै खेर फाल्यो । अबको साता पनि कामयाबी हुने शुभ संकेत देखिँदैन ।

सबभन्दा उदेकलाग्दो कुरा निषेधाज्ञाका बेला उपत्यकामा मास टेस्टिङ र कन्ट्याक्ट ट्रेसिङ हुन सकेनन् । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा, मास टेस्टिङ र कन्ट्याक्ट ट्रेसिङ सँगसँगै हुनुपर्नेमा न स्वास्थ्य मन्त्रालय न त स्थानीय तहले अग्रसरता देखाए ।

काठमाडौंमा उपत्यकामा अहिलेसम्म मात्रै ४ हजारभन्दा बढी संक्रमित फेला परेका छन् भने २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । काठमाडौंमा १७, भक्तपुरमा ३ र ललितपुरमा २ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार १ सय ८५, ललितपुरमा ५ सय १० र भक्तपुरमा ३ सय २४ संक्रमित छन् । अहिलेसम्म ४ हजार १९ जना संक्रमित भेटिएकामा ८ सय ४४ जना निको भएका छन् । क्रमशः २ हजार ५ सय ३८, ३ सय ९२ र २ सय ४५ जना उपचाररत छन् ।

काठमाडौं जिल्ला संकट व्यवस्थापन केन्द्रले राजधानीका ९ निजी अस्पताल र एक आवास केन्द्रमा १० हजार आइसोलेसन शय्या निर्माण गर्न केही दिनअघि सीसीएमसीमा सिफारिस गरे पनि कुनै निर्णय हुन सकेको छैन । काठमाडौंमा झन्डै ५० लाख मानिस बस्छन् । निषेधाज्ञाका कारण जनजीवन ठप्प छ । काठमाडौंमा यस्तो भयावह स्थिति आउँदा भारतको राजधानी दिल्लीमा भने कोरोना नियन्त्रणमा आउन लागेको छ । 

भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख नाघिसक्दा राजधानी नयाँदिल्लीमा भने घट्दो क्रममा छ । करिब २ करोड जनसंख्या रहेको दिल्लीको बढ्दो चहलपहल र आर्थिक गतिविधि सामान्य बन्दै गएको छ । साना पसलदेखि ठूला मलहरूसम्म सबै खुलेका छन् । मदिरा पसलहरूमा भीड पहिलेकै जस्तो हुन थालेको छ ।

रेस्टुराँहरूमा चहलपहल बढ्दै छ । बजारहरू गुल्जार देखिन थालेका छन् । दिल्लीमा बस सार्वजनिक यातायातको प्रमुख साधनमा पर्छ । उबर र ओलाजस्ता भाडाका ट्याक्सीदेखि अटोरिक्सा र ब्याट्रीवाला रिक्सा सबै निर्बाध चलिरहेका छन् । दिल्ली नगर निगमका बसहरू पनि पहिलेकै जस्तै आ–आफ्नो रुटमा गुड्न थालेका छन् । दिल्लीको मास ट्रान्जिटको मुख्य साधन मेट्रो रेल सेवा सञ्चालनका लागि मुख्यमन्त्री केजरीवालले केन्द्र सरकारसमक्ष आग्रह गरिसकेका छन् ।

दिल्ली सामान्य अवस्थातर्फ उन्मुख हुनुमा भाइरसको नियन्त्रण र रोकथाममा विगत एक महिनामा दिल्लीले गरेको अथक मिहिनेतको प्रमुख योगदान छ । पछिल्लो ३३ दिनमा लगातार दिल्लीको दैनिक संक्रमितको वृद्धिदर एक प्रतिशतभन्दा कम छ । जबकि भारतको औसत वृद्धिदर २ प्रतिशतभन्दा बढी रहँदै आएको छ । दिल्लीमा १ लाख ६१ हजार ४ सय ६६ जना संक्रमित भएकामा १ लाख ४५ हजार ३ सय ८८ जना निको भइसकेका छन् । हालसम्म ४ हजार ३ सयको ज्यान गएको छ । निको हुने दर सबैभन्दा बढी अर्थात् ९० प्रतिशत छ । 

केजरीवालले यसअघि भएका कमजोरीलाई केलाएर आवश्यक रणनीति अख्तियार गरे । परीक्षण दायरा बढाउनेदेखि स्वास्थ्य पूर्वाधारदेखि जनशक्ति अभावसम्मलाई सम्बोधन गरे । क्वारेन्टाइन सेन्टर संख्या बढाइयो । १० हजार बेडको क्वारेन्टाइन सेन्टर तयार पारियो । केजरीवाल सरकारले परीक्षणदेखि अस्पतालसम्मको चक्रसम्ममा जहाँ कमजोरी छ, त्यो हटाउने काम गर्‍यो । कन्ट्याक्ट ट्रेसिङलाई व्यापक बनाइयो । 

अहिलेको भारतको औसत परीक्षण प्रति १० लाखमा करिब ६ सय मात्र रहँदा दिल्लीको भने ७० हजार ३ सय छ । लक्षण नभएका र सामान्य लक्षण भएकाहरूलाई घरमै आइसोलेसेनमा बस्न भनियो । सामान्य लक्षण देखिइरहेकाको अक्सिजनको स्तर जाँच्न सरकारका तर्फबाटै अक्सिमिटर उपलब्ध गराइयो ।

कुनै टोल वा बस्तीमा स्थानीयस्तरमा संक्रमण फैलिएको आशंका हुनासाथ ती क्षेत्रलाई तत्कालै सिल गरेर कन्टेनमेन जोन घोषणा गर्दै आउजाउ निषेध गरियो । राज्य सरकारले संक्रमित भएरनभएको पहिचान गर्न सबै घरधुरीबाट तथ्यांकसमेत लिएको थियो ।
कोरोना बिरामीहरूलाई अस्पतालमा शय्या अभाव हुन नदिन सरकारी र निजी अस्पतालमा शय्याको संख्या उल्लेख्य बढाइएको थियो । होटलहरूमा पनि आइसोलेसनको व्यवस्था गरिएको थियो । जुनको पहिलो सातासम्म सरकारी र निजी अस्पतालमा कोरोना बिरामीका लागि चार हजारभन्दा कम शय्या रहेकामा एक महिनाभित्र त्यसलाई बढाएर १५ हजारसम्म पुर्‍याइयो । यो सबै विवरण दिल्ली सरकारको वेबसाइटमा उपलब्ध छ । 

यसै गरी मुलुककै पहिलो प्लाज्मा बैंक पनि स्थापना गरियो । यिनै पहलका कारण दिल्लीमा कोरोना भाइरसको संक्रमण नियन्त्रण हुने दिशातर्फ उन्मुख छ । दिल्लीले हासिल गरेको सफलतालाई उदाहरणका रूपमा हेरिएको छ । ‘यो भाइरसको चरित्र नै कसैले बुझ्न सकेको छैन, कसैले मैले बुझेको छु भन्छ भने त्यो भ्रम हो, त्यही भएर परिस्थिति नबिग्रियोस् भन्नका लागि सावधानीको खाँचो छ,’ दक्षिण भारतीय च्यानल मनोरमा न्युजलाई दिएको अन्तर्वार्तामा केजरीवालले भनेका छन्, ‘मास्क र सामाजिक दूरी अनिवार्य हो ।’
केजरीवाल भाइरसविरुद्धको लडाइँमा आत्मविश्वास हासिल गर्दै गएको हाम्रो सरकार, मन्त्री, मेयरले टुलुटुलु हेरिरहने त होला नि !