जिम्मेवारीबाट विचलीत हुने अधिकार प्रहरीलाई छैन : गृहमन्त्री थापा

जिम्मेवारीबाट विचलीत हुने अधिकार प्रहरीलाई छैन : गृहमन्त्री थापा

काठमाडौँ : गृहमन्त्री रामबहादुर थापाले जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई नभएको बताएका छन् । काठमाडौँमा शुक्रबार भएको प्रहरी निरीक्षक आधारभूत तालीमको दीक्षान्त समारोहमा गृहमन्त्री थापाले प्रहरीलाई कर्तव्यपथबाट विचलित नहुन आग्रह गरेका छन् ।

गृहमन्त्री थापाले नेपाल प्रहरीको पहिलो प्राथमिकता लोकतान्त्रिक पद्धतिमा आएका सामाजिक असन्तुष्टि, प्रशासनिक अड्चन र राजनीतिक तथा व्यक्तिगत अधिकारका द्वन्द्वका बीचमा आफुलाई संयमित बनाई निष्पक्ष कार्यशैलीका साथ व्यावसायिक धर्म निर्वाह गर्नु अनुरोध गरे ।

उहाँले प्रहरीबाट सम्पादन भएको कामको प्रशंसा गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न नेपाल प्रहरीको अहम भूमिका रहने बताउनुभयो । उहाँले प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरी कार्यक्षेत्रमा खटिन लागेका प्रहरी निरीक्षकलाई निर्भीकरूपमा कर्तव्यपालना गरेर शान्ति सुरक्षामा अब्बल बन्न निर्देशन दिए ।

अबको प्रहरी अपराध अनुसन्धान, शान्ति निर्माणका साथै सामाजिक विकासको हरेक गतिविधिमा जोडिएको उल्लेख गर्दै गृहमन्त्री थापाले नैतिक समाजको बृहत्तर हितमा विचलित नहुन र निर्धक्क भएर जिम्मेवारी पूरा गर्न प्रहरीलाई निर्देशन दिनुभयो । आपराधिक समुहहरुले सामाजिक खलल पुर्याउने सम्भावनाप्रति प्रहरी सदैव सचेत हुनुपर्नेमा उहाँको जोड थियो । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित पोष्ट ग्र्याजुएट डिप्लोमा इन पुलिस साइन्स समावेश भएको उक्त तालिमबाट नौ महिलासहित ९१ जना प्रहरी निरीक्षक दीक्षित भएका थिए ।