एक कलमजीवीको दु:खद मृत्युको कारण के हो ?

एक कलमजीवीको दु:खद मृत्युको कारण के हो ?

नेपालको नम्बर १ पत्रिकाका सहायक-सम्पादकले दिनमै मद्यपान गरेर सडकमा लर्खरिने, घर जाने भनेर पुलमुनि लाग्ने, ‘जुत्ता हिलोमा अड्केर खोलामा बग्ने’ अवस्था कसरी आयो?

कुनै बेलाका अग्रज सहकर्मी बनराम बानियाँ यो अवस्थामा पुग्न उनको अन्तर्मुखी स्वभाव र ‘लो प्रोफाइल’मा रम्ने बानी मात्र जिम्मेवार छ या मिडिया हाउसभित्र हुने राजनीति पनि कारक छ?

सबैजसो समकालीन सहकर्मीले एकपछि अर्को अवसर पाइरहँदा, सेटिंग गरेर काठमाडौंमा महल ठड्याइरहँदा २० बर्षदेखि पत्रकारिताको मूलधारमा काम गरिरहेका उनले के पाए?

क्षमता र योगदानअनुसार मिडिया हाउसमा भूमिका नपाउँदा उत्पन्न हुने मानसिक विचलनले निम्त्याएको दु:खद् घटना त होइन? हिजोका कतिपय ‘चप्पलवाला’ सहकर्मीले आफ्नो निष्ठालाई अहिले ‘बुट’ले बजारेको परिणाम त होइन?

बानियाँका बाइलाइन बेच्ने मिडिया हाउसले कति कमाए? बानियाँका समाचारले कतिपल्ट राज्यकोष दुरूपयोग हुनबाट जोगियो? बानियाँका समाचारको फाइदा उठाएर कति नेताले सत्ताको सिँढी चढे? बानियाँको सोर्स लगाएर कतिले चोला फेरे?

अनवरत फ्रन्टपेज स्टोरीमा २० वर्ष छाइरहँदा पनि बल्खुको हिलोमा जाकिनुपर्ने कारण मद्यपान मात्र हुनसक्दैन। दिउँसै मद्यपान गरेर खोलातिर लाग्न पक्कै उनको आत्मसम्मानमा ठेस लागेको हुनुपर्छ।

बाहिरबाट ‘अल्कोहलिकको मृत्यु यस्तै हो’ भन्न जति सजिलो छ, एउटा अन्तर्मुखी पत्रकारले दिउँसै मद्यपान गर्नुमा नदेखिने धेरै कारण हुनसक्छन्। बल्खु खोलामा बग्न २/४ ग्लास ‘लोकल’ मात्र कारण हुनसक्दैन, २/४ क्विन्टल डिप्रेसनले थिचेको हुनुपर्छ।

सनातनी प्रहरीले यसलाई ‘नसाले अचेत भई खोलामा डुबी मरेको’ भन्नसक्ला। तर, नेपालबाट धेरै टाढा बसेरै भन्न सक्छु, ‘बलराम बानियाँ आफैं मर्न तम्सिएका होइनन्।’ यो आत्महत्या गर्न बाध्य पारिएको हो।

नेपाली पत्रकारिताकाे पाठका लागि यस्ता कुराको जवाफ खोजिनुपर्ने हो।बानियाँलाई प्रयोग गरेर फाइदा लिनेहरुले बोल्नुपर्ने हो। कमसे कम बाँचेका परिवारको चोटमा दर्हो गरी मल्हमपट्टी गरिदिनु पर्ने हो।

मृत्युपछि फेसबुकमा लेखिने ‘हार्दिक श्रद्धाञ्जली’ ले मात्र बानियाँको दिवंगत आत्मालाई पक्कै शान्ति मिल्दैन। एउटा कलमजिवीको दु:खद मृत्युको कारक को को हुन्, पत्ता लगाएर सजाय दिन सरोकारवालालाई दबाव दिऔं।