आत्मकथ्य

पिताजीको नामबाट छानिएका छोरा मन्त्री

पिताजीको नामबाट छानिएका छोरा मन्त्री

म बच्चैदेखि अलि मसहुरजस्तो थिएँ । म कसैसँग डराउँथिनँ । त्यो मेरो पितापुर्खाका कारण पनि हो । म सानैदेखि घरमा पितापुर्खाका वीरताका कथा सुन्थेँ ।

बाजे चन्द्रशमशेरको चाकडी गर्नु हुँदो रहेछ । त्यति बेला राणाजीलाई चाकडी गर्नुबाहेक अर्को उपाय नै थिएन । जागिरदारमात्र होइन, अन्यले पनि राणाजीको चाकडी गर्थे । चाकडी गरेर नै जागिर पाइन्थ्यो । चाकडी एउटा बलियो संस्कृति थियो ।

चन्द्रशमशेरको दरबारमा दुइटा बैठक थिए रे ! एउटा राणाजीहरुका दाजुभाइ बस्ने माथिल्लो बैठक । त्यसपछि अलि माथिल्लो तहका चाकडीदार र कर्मचारीहरुको अर्को बैठक । साधारण कर्मचारी र चाकडीदारले चौरमा उभिएरै चाकरी गर्थे ।

मेरा बाजे चन्द्रशमशेरले पनि मन पराएको मान्छे रे ! उहाँको ठाउँ माथ्लो होइन, तल्लो बैठकमा थियो रे ! उहाँ त्यहाँसम्म जान सक्नुहुन्थ्यो रे ! त्यही बेला चन्द्रशम्शेरको हजुरिया फेरिएछ । फेरिएको हजुरियालाई त्यो थाहा भएन । र, उहाँलाई तलको बैठकमा बस्न नदिई चौरमा लगेर ठडाइदिएछ ।

बाजेले अपमानित भएको महसुस गर्नुभयो । र, अबदेखि चन्द्रशमशेरको ढोकामा चाकडीको लागि आउँदिनँ भनेर टोपी फ्याँकेर फर्किनुभएछ ।

पछि, चन्द्रशमशेरले बोलाउँदा पनि उहाँ दरबार जानुभएन ।

क्षेत्रपाटीका कमान्डिङ कर्नेल गङ्गाबहादुर बस्नेत असाध्यै इमानदार थिए । नयाँ पुस्तालाई उनको नाम थाहा नहुन सक्छ । राम्रो इन्साफ गर्ने व्यक्तिका रुपमा उनीबारे कानुनमा पढाइ नै हुन्थ्यो, पछिसम्म पनि । अहिले के छ कुन्नि ? थाहा छैन ।

उनले ठूलो तैनाथ लिए, दौडाहा गरे, सारा गरे । तर, उनले जीवनभर एक पैसा घुस खाएनन् ।

००७ सालमा मोहनशमशेर नेतृत्वको संयुक्त सरकारमा भारदारमध्येबाट एक जना मन्त्री बनाउन कसलाई छान्छौ भनी टुँडिखेलको खरीको बोटमा जम्मा गरी सोधिएछ । उनीहरुले ध्वनि मतले गङ्गाबहादुरका छोरा इन्जिनियर यज्ञबहादुरलाई छान्छौँ भनेछन् । र, यज्ञबहादुर स्वास्थ्य मन्त्री भएका थिए । पिताजीको नामबाट छानिएर छोरा मन्त्री भएको घटना यही मात्र होला ।

पछि राजा महेन्द्र देशदर्शनमा निस्कँदा गङ्गाबहादुरले गरेको जस्तो इन्साफ पाइएन भनेर ठाउँठाउँमा जनताले बिन्ती बिसाए । त्यसपछि राजाले गङ्गाबहादुरबारे खोजखबर गरे । उनले गङ्गाबहादुरका नातिनातिनालाई एसएलसीसम्म छात्रवृत्ति दिलाइदिए । गङ्गाबहादुर मात्र होइन, उनका कुनै पनि भाइले घुस खाएनन् ।

त्यसताका अधिकांश भारदारले श्री ३ महाराजसँग तराईको बिर्ता मागे । गङ्गाबहादुरको खलकलाई पनि बिर्ता माग्न उनीहरुले सुझाव दिए । तर, माग्ने होइन, कर्ममा विश्वास गर्ने मान्छे हौँ भनेर कहिल्यै बिर्ता मागेनन् ।

गङ्गाबहादुर धेरै लोकप्रिय थिए । तिनै गङ्गाबहादुरको साथीजस्तो र गुरु पनि हुन्, मेरा बाजे । मन्त्र सुनाएका गुरु । उनीहरुबीच एकदमै मिल्ती थियो ।        

हाम्रो घरको वातावरण त्यस्तो थियो । त्यस्तो संस्कृति र संस्कारमा म हुर्कें ।