काठमाडौं । प्रायः सटर बन्द छन् । फुटपाथ केही सडक व्यापारीले ओगटेका छन् । बीच सडकमा ठेलमठेल भीड । यो दृश्य हो, २५ साउनको असन, भोटाहिटी, महाबौद्ध आसपासको । अघिल्लो दिन ५ जनामा कोरोना संक्रमण भेटिएपछि यो क्षेत्र सिल गरिएको छ ।
कोही मास्कै नलगाएका त कोही हातमा मास्क झुण्ड्याएका मानिस निस्फिक्री घुमिरहेका देखिन्छन् । छेउमा सन्देश बजिरहेको छ, 'अत्यावश्यक काम परे घरको एक जनामा मात्र निस्कनु होला ।' त्यो सन्देशको कुनै परवाह कसैलाई देखिन्न । तस्बिर स्पष्ट छ, काठमाडौंमा जोखिम थपिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार २५ साउनमा मात्रै उपत्यकामा ९२ जना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा संक्रमितको संख्या १ हजार १ सय ३६ पुगेको छ । उपत्यकामा ६ जनाको संक्रमणकै कारण मृत्यु भइसकेको छ ।
काठमाडौंका ९ सय १२ संक्रमितमध्ये १ सय १६ जना, ललितपुरमा १ सय ३९ मध्ये ३२ जना र भक्तपुरमा ८५ मध्ये ३२ जना मात्र संक्रमणमुक्त भएका छन् ।
उपत्यकामा संक्रमण पुष्टि भएकामध्ये ६४ प्रतिशत बाहिरबाट आएको पाइएको छ । अहिलेको संक्रमण संख्याले भयावह संकेत गरिसकेको छ । किनभने काठमाडौंमा ५० लाख मानिसको बसोबास छ ।
लकडाउनका बेला बाहिरिएका मानिस ७६ रै जिल्लाका मानिस मात्र होइन, भारतबाट पनि कोरोनाले बेरोजगार भएकाहरु यहीँ ओइरिइरहेका छन् । कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सीमा बन्द गरिए पनि संक्रमण बढेका भारतीय सीमावर्ती राज्य उत्तरप्रदेश, पश्चिम बंगाल र बिहारबाट लुकीछिपी आइरहेकै छन् ।
पछिल्ला दिनमा नयाँ संक्रमितहरूको संख्यामा भएको वृद्धिलाई हेर्ने हो भने काठमाडौं कोरोनाको 'हटस्पट' बन्नेतर्फ उन्मुख छ । पसल र रेस्टुरेन्टमा भीडभाड छ । रेस्टुरेन्ट खुलेका छन् । तर सावधानी अपनाइएको छैन । सार्वजनिक यातायात व्यवस्थित छैन । मास्क, सेनिटाइजर प्रयोगमा बेवास्ता गरिएको छ ।
स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. वासुदेव पाण्डे शब्दमा संक्रमितको संख्या बढेसँगै कुनै पनि ठाउँ सुरक्षित देखिएको छैन । मन्त्रालयमै ८१ जनाको पीसीआर गर्दा ४ जनाको रिपोर्ट पोजिटिभ आएको छ । यसमा तीन जना मन्त्रालयका सहयोगी हुन् । मन्त्रालयमा चिया दिने कर्मचारीलाई समेत कोरोना देखिएको छ ।
ईडीसीडीका अनुसार गंगालाल अस्पतालमा थप चार जनामा कोरोना संक्रमण देखिएको छ । गंगालालमा संक्रमितको संख्या १६ जना पुगेको छ । त्यस्तै एभरेस्ट बैंकमा तीन जनामा संक्रमण पुष्टि भएको छ । सर्वसाधारणको प्रत्यक्ष संलग्न हुने प्रहरी र अन्य कार्यालयका कर्मचारीलाई संक्रमण देखिएपछि समुदायमा फैलने आकलन गरिएको छ ।
कोभिड–१९ ले मृत्यु हुनेमा कुनै न कुनै दीर्घरोग भएकाको संख्या बढी मानिए पनि पछिल्लो समय मृतकको संख्या ह्वात्तै बढेको छ । २५ साउनसम्म ७५ जनाको मृत्यु भइसकेको छ । यो संख्या जम्मा संक्रमित (२२ हजार ९ सय ७२ जना) को ०.३ प्रतिशत हो । मृत्यु हुनेमा १६ जना (२१.३३ प्रतिशत) महिला र ५९ जना (७८.६६ प्रतिशत) पुरुष छन् । त्यसमा दुई भारतीय पुरुष र एक चिनियाँ महिला पनि छन् ।
सरकार बेला घर्किसकेपछि बल्ल आइसोलेसन सेन्टर व्यवस्थापनमा जुटेको छ । खुलेआम भ्रष्टाचार छ । ६ महिनासम्म पीसीआर परीक्षण मेसिन आवश्यक संख्यामा खरिद, अस्पताल, भेन्टिलेटर आदिको व्यवस्था किन गरिएन ? प्रधानमन्त्री केपी ओलीसित ओठे जवाफ मात्र छ ।
ओली त बरु कोरोना संक्रमण भयावह अवस्थाभन्दा नयाँ अयोध्या निर्माणका लागि चिन्तित देखिएका छन् । कोरोना महामारी नै राजनीतिक अस्त्र बनाउनु बुद्धिमत्ता होइन । माडीबाट आएको टोलीसँग २ घन्टा गफिने ओलीले कोरोना संक्रमण भयावह अवस्था सायद हेक्का राखेका छैनन् । राम मन्दिरको पहलसँगै उनको पनि सान्दर्भिकता गुम्ने अवस्था आउन सक्छ ।