रोइरहेछ हिरोसिमा

रोइरहेछ हिरोसिमा

हिरोसिमा शान्ति सङ्ग्रहालयको भित्तामा बनाइएको घडीचित्रमा मेरा आँखा रोकिए । जसरी रोकिएको थिए– अगस्ट ६, १९४५ का दिन बिहान ८ः१५ बजे चलिरहेको घडीका सुई । त्यही समयमा रोकिएका थिए हजारौँ मानिसका मुटुका चाल एकै पटक ।

संसारलाई स्तब्ध पार्ने इतिहासको त्यो क्रूर समय बताउने घडीचित्रका अगाडि उभिएको थिएँ । मेरो मानस पटलमा दोस्रो विश्वयुद्धको इतिहास घडीको सेकेन्ड सुईजस्तै फनफनी घुम्न थाल्यो । संसारको पहिलो आणविक बम आक्रमणको त्रासदी मस्तिष्कमा फत्किन थाल्यो । निहत्था नागरिक र मानव सभ्यतामाथि गरिएको पहिलो आणविक बम आक्रमणको दुःखदायी घटनाले पोल्न थाल्यो बेस्सरी ।

मानव जातिको इतिहासको त्यो कालो दिनमा नरसंहारको बादल आकाशभरि छाएको थियो । यमराजरूपी ‘लिटिल ब्वाय’लाई हिरोसिमाको धर्तीमा खसाइएको थियो । त्यसले एकै पलमा तत्कालै ७० हजार मानिसको ज्यान लियो । बाँकी ७० हजार मानिसहरू आणविक बमबाट निस्केको विकिरणका कारणले सिर्जित ल्युकेमिया र क्यान्सरले केही वर्षपछि मार्यो । १ लाख ४० हजार निर्दोष नागरिकले ज्यान गुमाउनुपरेको बिर्सनै नसकिने दुःखदायी घटना थियो हिरोसिमा आणविक बम आक्रमण । त्यो आक्रमण भएको करिब पचहत्तर वर्ष हुन लाग्यो । त्यसको असर अझै सकिएको छैन । त्यो नरसंहार सम्झँदै गर्दा भावुक बनायो ।

हिरोसिमा शान्ति म्युजियमभित्र प्रवेश गर्नुअगि म्युजियमअगाडिको अनाम आमाको सालिकले मेरो मन रुवाइसकेको थियो । कुप्री परेकी ती आमाले छातीमा एउटा दुधेबालक टाँसेकी थिई । अर्को सानो बच्चा पछाडिबाट आमाको बुइ चढन आँटेजस्तो देखिने मूर्तिले युद्धका बेला हुने हताहतको जीवन्त व्यथा बोलिरहेको थियो । अचानक आफ्नै आमा सम्झेँ हिरोसिमामा ।

वास्तवमा आमाहरूलाई आपद्विपद् र युद्धमा सबैभन्दा बढी सन्तानकै माया आमालाई लाग्छ । आपद् र अप्ठ्यारोमा सबैभन्दा पहिले आमालाई नै पुकारिन्छ । बच्चाले आमाको काखमा सबैभन्दा बढी सुरक्षित महसुस गर्दछन् । बम विष्फोटलगत्तैको दृश्यबोध गराउने उक्त मूर्तिले विश्वका आमाहरूको सामूहिक पीडा बोलिरहको थियो । ती अनाम आमालाई झुकेर नमन गरेथेँ ।

हुन त हिरोसिमा बम आक्रमण जापानको आक्रामक युद्धनीतिको परिणति थियो । अमेरिकासँग जोरी खोज्दै जापानले पर्ल हार्बरमा अवस्थित नौसेनाको क्याम्पमा आक्रमण गरेर दुस्मनी कमाएको थियो । दोस्रो विश्वयुद्धमा अमेरिका पनि होमिएपछि जापानको गठबन्धन शक्ति जर्मनीले हार स्वीकारी आत्मसमर्पण गरिसकेको थियो । तर, अमेरिकाको चेतावानीका बाबजुद जापानले आत्मसमर्पण गर्न मानिरहेको थिएन । त्यसपछि अमेरिकाले जापानमाथि भयङ्कर आक्रमण गर्ने चेतावनी दिएको थियो । तर, त्यस चेतावनीमा आणविक बम आक्रमण गर्ने कुरा उल्लेख थिएन । आणविक बम आक्रमण गर्दै छौँ भनेको भए जापान युद्धबाट पछि हट्थ्यो कि ? मेरो मनमा एउटा तर्क उब्जियो ।

हिरोसिमामा आणविक बम खसालेपछि पनि जापान टसमस भएको थिएन । जापानको युद्धहठ कायमै थियो । त्यसको तीन दिनपछि नागासाकीमा अर्को आणविक बमले धनजनको ठुलो क्षति पु¥याएपछि मात्र जापानले आत्मसमर्पण गरेको थियो । आत्मसमर्पण गराउन लाखौँ निर्दोष नागरिकको ज्यान लिने दुःखदायी घटना सम्झँदा पोलिरह्यो अन्तर हृदय ।

‘हिरोसिमा आणविक बम आक्रमण मानिसको सबैभन्दा ठुलो भुल हो ।’ मसँगै रहेका प्रा. रामकुमार पाँडे सरले भित्ताको घडीचित्रको समय र मिति हेर्दै भने ।

हिरोसिमाको आफ्नै गौरवपूर्ण इतिहास थियो । त्यो इतिहास केही मिनेटमै बम आक्रमणले खरानी बनाएको थियो । वास्तवमा हिरोसिमा ठुला ठुला भवन र ऐतिहासिक किल्लाहरूले बनेको सहर थियो । उद्योग, व्यापार र विभिन्न व्यवसायमा अग्रणी थियो । उति बेला जापानबाहिर युद्धका लागि सैनिक पठाउने सहरका रूपमा परिचित थियो । सेनाको एउटा मुख्य थलो पनि थियो । क्योटो सहरमा आक्रमण गर्ने योजना परिवर्तन गरेकै कारण हिरोसिमा आणविक बमको निसानामा परेको थियो । जापानलाई घुँडा टेकाउने अमेरिकी गठबन्धनको उद्देश्यका कारण ध्वस्त बनेको थियो हिरोसिमा ।

म्युजियमको मुख्य प्रदशर्नीकक्षमा मेरा गह्रुङ्गा पाइला सुस्तरी चल्दै थिए । हिरोसिमा बम आक्रमणको कारण थाहा थियो । तर, त्यसले निम्त्याएको असर र पीडाका बारेमा उतिसारो जानकारी थिएन । त्यहाँका हरेक सामग्री हेर्न र स्पर्श गर्न आतुर थिएँ । हिरोसिमाका पीडालाई प्रत्यक्ष अनुभूत गर्न चाहन्थेँ । धनजनको क्षतिलाई आँकलन गर्न चाहन्थेँ । हिरोसिमाको दुःख नजिकबाट बुझ्न चाहन्थेँ । युद्धनायकहरूलाई त्यहीँबाट खबरदारी गर्न चाहन्थेँ ।

म्युजियमभित्र ठाउँ ठाउँमा राखिएको मोनिटरमा आफूलाई चाहेको भाषामा सुन्न र हेर्न सकिने सुविधाको उपभोग गर्दै भिडियो हेर्न थालेँ । कुनै ‘एक्सन फिल्म’जस्तो लाग्ने आणविक बम खसालेको दृश्य, भुइँबाट उठेको कुहिरीमण्डल धुवाँको अकाशे उडान, मानिसका रुवावासी र कोलाहाल, जलिरहेको सहर, आधा जलेको मानिसका लास..... । उफ् ! बाँकी दृश्य हेर्न सकिनँ । पूरै भिडियो हेर्न त ठुलो आत्मबल चाहिँदो रहेछ । त्यस भिडियोले भित्रभित्रै मर्माहत पार्यो । युद्धप्रति घृणा र हठी शासकप्रति तीव्र आक्रोश पैदा गरायो ।

आणविक बम आक्रमणका कारण तेह्र वर्ग किलोमिटर परसम्मका अस्पताल, भवन, बाटाघाटाहरू ध्वस्त भएका थिए । अधिकांश मानिसहरू तत्कालै मरे । त्यस आक्रमणमा डाक्टरको समेत मृत्यु भएकाले अधिकांश घाइतेहरू उपचार र औषधी नपाएर मरे । बाँचेका डाक्टरलाई नाभिकीय ताप र रेडियसनका कारण घाइते भएकाहरूको उपचार कसरी गर्ने भन्नेबारेमा ज्ञान नभएका कारण तिनकै अगाडि हजारौँ मानिसहरू मरे ।

धुकधुकी मात्र अडिएका, घाइते, कमजोर, दीनहीन र निष्प्राण थिए । ती यति कमजोर थिए कि आफ्नो शरीरमा बसेको झिँगा धपाउने ताकतसम्म उनीहरूमा थिएन । तिनका शरीरमा कालो कम्मल ओढेजस्तै शरीरभर काला झिँगा बसेका हुन्थे । त्यो क्रूर घटनाका बारेमा थाहा पाएर म पनि झन्डै रोएँ ।

सङ्ग्रहालयमा राखिएका अङ्गभङ्ग भएर बाँचेका मानिसका फोटा र केही भौतिक वस्तु हिरोसिमा आक्रमणका साक्षी थिए । आधा जलेको कपडा, पुरानो टोपी, फुटेको हेल्मेट, बम विष्फोटन हुँदा निस्केको तापबाट पग्लेर बाङ्गिएको सिसाको बोटलजस्ता सामग्री देख्दा मन भतभती पोल्न थाल्यो ।

क्षतविक्षत शरीर भएका मानिस, तातोले जलेका विद्यार्थी र आम नागरिकका चित्रहरू हेर्न नसकिने खालका थिए । तिनका जलेको शरीरका छालामा निकाल्न नमिल्ने गरी टाँसिएका लुगाका दर्दनाक फोटाहरू मेरा आँखामा टाँसिए । ती आँतै कमाउने दृश्यहरू देख्दा मेरो मन भक्कानियो ।

हिरोसिमामा खसाइएको बम आक्रमणबाट बाँचेकाहरूको रामकहानी सुनेँ । तिनको पीडा अनुभूति गरेँ । त्यसमध्येकी आणविक बम आक्रमण केन्द्रबिन्दुभन्दा डेढ किलोमिटर टाढा रहेका कारण बाँचेकी हिरोको ओकुईले भनेको सम्झँदा म पो निरीहजस्तो भएछु । उनले भनेकी थिइन्– ‘ठुलो आवाजसहित भएको बम विष्फोटनको कम्पनले मेरी सानी बहिनीलाई माथि उडाएर भुइँमा पछा¥यो । उनको पाखुराको छाला बाहिर निस्किएको थियो । कोही आउनुहोस् बचाउन भनेर कराएँ ।’

त्यहाँ चलिरहेको एउटा भिडियोमा बम खसालेपछि निमेषमै धुवाँको मुस्लो आकाशतर्फ फैलिएको र सहरले लाभा ओकलेको देख्दा मेरो सातो गयो । बम जमिनभन्दा माथि नै ठुलो आवाजसहित विष्फोट भएको थियो । त्यो विष्फोटका कारण सयौँ सूर्य बराबरको उज्यालो मात्र निस्केन, करिब चार हजार डिग्री सेल्सियसको तापक्रम चारैतिर फैलियो । मानौँ दर्जनौँ सूर्य नै धर्तीमा खसेको थियो । यदि त्यो बम जमिनमै खसेर विष्फोट भएको भए त्यसले पु¥याउने क्षतिको अनुमान गर्न सकिन्नथ्यो ।

अत्यधिक मात्रामा निस्केको तापले वरपरका सबै वस्तु खरानी बनायो । बम खसेको ठाउँ नजिकका मानिस र जीवजन्तु यसरी डढे कि तिनको खरानीसमेत भेट्न गाह्रो भयो । इँटा र टायलसम्म पग्ले । तापको लहर तीन किलोमिटर क्षेत्रमा फैलिएर घर जले, मानिस र जीवजन्तु मरे । अत्यधिक तापक्रमका कारण पग्लेका इँटा, टायल आदि सामग्री प्रदशर्नीमा राखिएका थिए । ती वस्तु देख्दा मेरो मुटु नै खरानी होला जस्तै भयो ।

आणविक बम विस्फोट हुँदा ताप र विकिरण मात्र निस्केन; धुलो, धुँवा र खरानीका साथ नदीको पानी वाष्प बनेर आकाशतिर उठ्यो । धेरैमाथि पुगेपश्चात् चिसिएर वर्षाको रूपमा तल खस्न थाल्यो ।

अचम्म ! त्यो वर्षा कालो, चिप्लो र अति चिसो थियो । जापानीहरूले कहिलै थाहा नपाएको र नसुनेको कालो पानीको वर्षा देखेर आत्तिए । त्यो वर्षा करिब दुई घण्टासम्म चलिरह्यो । म्युजियमभित्र कालो वर्षाको अवशेष लेध्रो टाँसिएको ढुङ्गाको सामुन्ने उभिएर हेर्दै थिएँ । कल्पना गर्दछु, घरवारविहीन घाइतेहरूलाई विकिरणयुक्त अति चिसो वर्षाले कति पीडा थप्यो होला ? मनमा उदासीको कालो वर्षा बर्सिन थाल्यो ।

प्रदशर्नी हेर्दाहेर्दै आँखा रसाएका जापान निवासी रविन शर्माले आफ्नो पीडा पोख्दै भनेथे– ’म्युजियमका सामग्री देख्दा दुई वर्षअगि कस्मिरमा मारिएका भारतीय सेनामा कार्यरत सहोदर दाजुको सम्झनामा आँसु आयो ।’

उनको कुराले म अवाक् भएँ । त्यहाँको कारुणिक दृश्यले उनलाई मात्र होइन जोकोहीलाई रुवाउन सक्दथ्यो । वास्तवमा युद्धले कसैलाई खुसी र सुखी बनाउन सक्दैन । जसले युद्ध जितेका हुन्छन् तिनीहरू पनि रुन्चे हाँसो हाँसिरहेका हुन्छन् ।

कस्तो विडम्बना ! जो तत्कालै मरे ती भाग्यामानी ठहरिए । जो बाँचे ती अभागी थिए । ती घाइतका जिउका छाला आलुका बोक्राजस्तै उप्किएको थियो । अत्यधिक ताप र जलनका कारण पानीपानी भन्दै मानिसहरू नदीमा फाल हाने । नदीको पानीसमेत अत्यन्त तातो थियो । ‘तावाबाट उफ्रेको माछा भुङ्ग्रामा’ भनेजस्तै नदीको पानीमा फाल हान्नेहरू तत्कालै मरे । उफ् ! काल्पनिक कथाजस्तो लाग्ने सत्य घटनाले मेरो मुटु नै भकभक उम्लेजस्तो भयो ।

बम विस्फोटबाट निस्केको उच्च ताप र विनाशकारी विकिरणका कारण बोटबिरुवा ध्वस्त भएका थिए । मानिसहरू कोही तातोले मरे, कोही भत्केको भवनमुनि थिचिएर मरे । विष्फोटका आवाजले घरका झ्यालको सिसा फुटेर मानिसका शरीरमा गाडिएर मरे । कैयौँ मानिसहरू सदाका लागि अन्धा र बहिरा भए । बाँचेकाहरू ल्युकेमिया र क्यान्सरको सिकार भएर केही समयपछि मरे । उति बेला बाँचेका र तिनका सन्तानका शरीरमा अहिले पनि विकिरणको खतरनाक असर देख्न पाइन्छ । तर, त्योभन्दा पनि डरलाग्दो सामाजिक असरका कारण हिरोसिमा क्षेत्रका मानिसहरू मर्नु न बाँच्नुको अवस्थामा रहेको थाहा पाउँदा मनमा छटपटी भयो ।

आणविक बम आक्रमणबाट बाँचेका र तिनका सन्तानलाई अझै पनि जापानमा भेदभाव र छोइछिटो गरिँदो रहेछ । त्यस बम आक्रमणबाट बाँचेका मानिसलाई जापानमा ‘हिबाकुसा’ भनिन्छ । तिनले सरकारबाट विशेष भत्ता पाउँछन् । हिबाकुसाका सन्तान दरसन्तानमा पनि विकिरणको प्रभावले क्यान्सर, ल्युकिमियालगायत अन्य रोगको हुने सम्भावना हुँदो रहेछ । सोही डरका कारण अहिले पनि जापानमा विवाह गर्नुअगि हिबाकुसा हो होइन पत्ता लगाएर विवाह गरिन्छ । हाम्रो देश नेपालमा देखिएको जातधर्मको छोइछिटोभन्दा अलिक भिन्न रूपको भेदभाव जापानमा रहेको थाहा पाउँदा दुःख लाग्यो । जापानी समाजको यो अनौठो भेदभावले सोचमग्न बनायो ।

हिरोसिमा बम आक्रमणका एक प्रत्यक्षदर्शी वातारु सातोको भनाइ सम्झन्छु–‘सडक मानिसका लासले भरिएको थियो । यौनाङ्गसमेत जलेर तिनीहरू अँगारजस्ता काला थिए । महिला हुन् कि पुरुष छुट्याउन सकिँदैन थियो ।’

उनको कुराले मेरो मन अँगारजस्तै भयो । त्यस्ता दृश्य देखेका मानिसमा कस्तो असर प¥यो होला ? केही अनुमान गर्न सकिनँ ।

म्युजियममा त्यस समयमा भएको क्षति, विकिरणको असर, तातो राप र आगोले पु¥याएको क्षतिको भिडियो र चित्रहरू आणविक बम आक्रमणका साक्षी हुन् । ती श्रव्यदृश्य सामग्री नहेरूँ भन्दा पनि त्यस बेला के भएको रहेछ भनेर हेर्न मन लाग्ने । हेरूँ न त भन्दा पूरै चित्र र भिडियो हेर्नै नसकिने । अप्ठ्यारो अवस्थामा हुन्थेँ म ।

म्युजियममा राखिएका आणविक बमबाट पीडितका सामग्रीहरूले मेरो मन बेस्सरी दुखायो । खासगरी बच्चासँग सम्बन्धित सामग्रीहरू भत्केको लन्च बक्स, जलेको खेलौना, डढेको युनिफर्म, भत्केको साइकल आदि देख्दा आँसु झर्न मात्र बाँकी रह्यो । अवलोकन गर्दै रहेका दुई जापानी महिला सुँक्कसुँक्क गर्दै गरेको देखेको थिएँ ।

म्युजियम घुम्दै गर्दा एक जना जापानी नागरिकसँग चिनाजान भयो । उनले मेरो बारेमा सोधीखोजी गरे ।

‘बुद्ध जन्मेको देश । शान्तिको देश ।’ उनले नेपालको तारिफमा केही शब्द खर्चे । उनले भन्न चाहेनन् अथवा उनलाई थाहा भएन लामो समय नेपाली जनता राज्य र विद्रोही पक्षको द्वन्द्व खप्नुसम्म खपेका थिए । हामी नेपालीले आफन्त गुमाएको पीडा अझसम्म खपिरहेका छौँ ।

कुराकानीको क्रममा उनको अनुहार गम्भीर देखेँ । सायद उनलाई पनि त्यहाँको श्रव्यदृश्य सामग्रीहरूले दुःखी बनाएको थियो होला । एउटा इलेक्ट्रोनिक्स कम्पनीका म्यानेजर आकियो इसिदाले हिरोसिमा आणविक बम आक्रमणका बारेमा मेरो विचार जान्न चाहे ।

‘मानवता पराजित भएको घटना हो ।’ मैले भनेँ ।

इसिदाले हिरोसिमा बम आक्रमणका बारेमा तर्कपूर्ण विचार राखे– ‘मानिसले यस आणविक बमको आक्रमबाट शिक्षा लिनुपर्छ । दुःखको कुरा शक्तिको होडबाजीमा केही देशहरूले अझै पनि बम बनाइरहेका छन् । उत्तर कोरियाको आणविक अस्त्र निर्माण र केही समय पहिले जापानको आकाशमाथिको मिसाइल प्रहार गरिएको घटना डरलाग्दो हो । त्यसले युद्ध निम्त्याउन सक्छ । उत्तर कोरियाको आणविक निशस्त्रीकरण कार्य तत्काल वार्ताद्वारा सम्पन्न गर्नुपर्दछ । डर र धम्कीले होइन ।’

उनलाई अझै सुन्ने मन थियो । तर सँगै आएका साथीहरूले मलाई छाडेर निकै अगि बढिसकेकाले उनीसँग बिदा मागेँ ।

म्युजियम अवलोकन गर्दैगर्दा एक हुल स्कुलका विद्यार्थी भित्र आएको देखेँ । उनीहरू म्युजियमको चित्र हेर्दै थिए, मचाहिँ तिनको अनुहार । हेर्दाहेर्दै तिनको अनुहारबाट खुसी गायब भयो । चिन्ताका रेखाहरू दौडझैँ लाग्न थाल्यो तिनको अनुहारमा । तिनीहरू दुःखी हुन्छन् भन्ने कुरा शिक्षकलाई थाहा हुँदाहुँहै पनि इतिहासबाट शिक्षा मिलोस् भनेर त्यहाँ ल्याइएको हुनुपर्दछ । मलाई लागेको छ ती बच्चाहरू ठुलो भएपछि अवश्य पनि आणविक युद्धविरोधी भएर निस्कनेछन् ।

बम विष्फोटकका कारण उति बेला ठिक ८ः१५ मा बन्द भएको घडीअगाडि पुग्दा हिँडिरहेका मेरा पाइला रोकिए । त्यो घाइते घडी म्युजियमको सोकेसभित्र शोकमग्न अवस्थामा रहेको पाएँ । घडी देखेर मेरो अशान्त मन टक्क रोकियो । उति बेला बन्द भएको घडीको सुई घुम्ने कुरै थिएन । तर, मेरो टाउको भने फनफनी घुमाएजस्तो भयो । होइन, के साह्रो भावुक भएँ हँ म ? आफैलाई प्रश्न सोधेँ ।

आफूलाई सामान्य अवस्थामा ल्याउने प्रयास गरेँ । त्यहाँबाट पाइला चाल्नुअगि त्यस घडीलाई अन्तिम पटक दर्शन गरेँ । ‘त्यस बन्द घडीले शक्तिका उन्मादीलाई यस धर्तीबाट एकदिन तिम्रो पनि यसरी सदाका लागि सास बन्द हुनेछ । आँखा बन्द गर्नेछौँ ।’ यस्तै सन्देश दिएजस्तो लाग्यो ।

म्युजियम अवलोकनका क्रममा हामीसँग हिँडिरहेका प्रकाश पौडेल ‘माइला’को खटपटी मलाई अनौठो लागिरहेको थियो । जापानमा हामीलाई स्वागत सत्कार गर्ने, टोकियोबाट करिब नौ सय किलोमिटर टाढा हिरोसिमासम्म पालो गर्दै गाडी चलाएर ल्याउने व्यक्ति यात्राभर ठिक देखेको थिएँ । त्यहाँ पुगेपछि उनलाई के पो भयो ? हामीमध्ये कसैले उनको चित्त दुखाउने काम पो गरेछौँ कि भनेर डराएँ । उनको बेचैनीले मलाई झन् बेचैन बनायो । त्यसको कारण थाहा नपाई मलाई चैन भएन ।

‘चौथो पटक हो हिरोसिमाको म्युजियमभित्र प्रवेश गरेको । तर, हरेक पटक ती बीभत्स दृश्य देख्दा बेचैन हुन्छु, हेर्न सक्दिनँ ।’ प्रकाशको बेचैनी थाहा पाएँ । कहिले काँही अरुको बेचैनी थाहा पाएर पनि ढुक्क हुन पाइँदो रहेछ ।

निकै बेर म्युजियमभित्र बिताएर तल झ¥यौँ । मचाहिँ हिरोसिमा म्युजियमको भुइँ तलामा राखेको ठुलो आकारको ‘पिस वाच’ अर्थात् ‘शान्तिको घडी’ देखेर टक्क रोकिएँ । म रोकिए पनि सबैभन्दा माथि रहेको ‘साइको’ कम्पनीको गोलाकार घडीको सेकेन्ड सुई घुमिरहेको थियो । त्यस घडीले जापानको समय बिहान ८ः३५ बताएको थियो । त्यसभन्दा मुनि रहेका डिजिटल घडीले प्रथम पटक आणविक बम आक्रमण भएको दिनदेखि आजसम्म कति दिन भयो भनेर गन्ति गरिरहेको थियो । तेस्रो घडीले पछिल्लो पटक गरिएको आणविक परीक्षणदेखिको दिन गन्ती गरिरहको थियो । नयाँ आणविक परीक्षण भए तेस्रो घडीलाई ‘रिसेट’ गरी शून्यमा लगेर त्यस दिनदेखि नयाँ गन्ती सुरु गरिँदो रहेछ ।

वास्तवमा त्यहाँ इतिहास र वर्तमानको सुई फनफनी घुमिरहेको थियो । शान्ति घडीले संसारभरको आणविक गतिविधिको निगरानी गर्दै आम जनतालाई सूचना प्रदान गरिरहेको देखेँ । त्यो सूचनाले आणविक शस्त्रविरोधी जमात तयार पार्न मद्दत पु¥याउँछ जस्तो लाग्छ ।

म्युजियमबाट बाहिरिएपछि हिँड्दै गर्दा मनमा कुरा खेल्न थाले– ‘नेपालमा पनि यस्तै खालको युद्ध म्युजियम हुनुपर्छ । माओवादी द्वन्द्वताकाको सरकार र द्वन्द्वरत दुबै पक्षको क्रूरता सबैले थाहा पाउनुपर्छ ।’ वास्तवमा म्युजियमभन्दा ठुलो विश्वविद्यालय अरु के हुन सक्ला र ?

हामी हाइपोसेन्टरबाट हाइपोसेन्टरतिरै हिँडिरहेका थियौँ । बन्द कोठाभित्रको म्युजियमबाट खुला आकाशमुनिको म्युजियममा पाइला टेक्यौँ । खुला आकाशमुनिको म्युजियम भन्नु नै शान्तिपार्क थियो । शान्ति म्युजियम र शान्तिपार्क ‘हाइपोसेन्टर’ अर्थात् सबैभन्दा धेरै मानिस मारिएको ठाउँमा बनाइएको थियो । हाइपोसेन्टरमा हिँडिरहँदा मनको इपिसेन्टरमा कम्पन पैदा भइरहेथ्यो ।

तङ्ग्रेको दिन थियो । दुःख र पीडाका दृश्यचित्रले मन शीताङ्क भएको थियो । शान्तिपार्कमा परसम्म आँखा बिछ्याएँ । आँखाले ठम्याएको निकै परसम्मका क्षेत्र आणविक बम आक्रमणको चोट बोकेर निन्याउरो अवस्थामा रहेको देखियो । शान्तिपार्कमा पुगेपछि हामी छरियौँ । हिँड्दै जाँदा कोही अगि–पछि, दायाँ–बायाँ भयौँ ।

शान्तिपार्कमा अवस्थित जापानी कवि साङ्किची टोगेको स्मृतिमा बनाइएको स्मारकसामुन्ने पुगेछु । कविको स्मृतिमा त्यहाँ पार्क बनाइएको छ भन्ने थाहै थिएन मलाई । हिरोसिमा शान्तिपार्कमा कविको स्मारक बन्नु एक लेखकका लागि ठुलो खुसीको कुरा हो नि । अचानक कवि साङ्किची मेरो स्मृतिमा आउन थाले ।

हिरोसिमा आणविक बमको आक्रमण हुँदा हाइपोसेन्टरभन्दा तीन किलो मिटर टाढा भएका कारणले बाँचेका भाग्यमानी व्यक्ति थिए साङ्किची । विश्वमा शान्ति कायम होस् । आणविक अस्त्रबाट पृथ्वीलाई मुक्त राखियोस् भन्ने अभियानमा उनी सामिल थिए । अलिकपछि शान्ति अभियानको नेता बन्न पुगे । आणविक अस्त्र निर्माणका विरुद्ध पुस्तक लेखे । शान्ति स्थापनार्थ कविता लेखे । कवितासङ्ग्रहका सर्जक साङ्किचीको ‘मलाई मानव फिर्ता देऊ’ भन्ने एउटा चर्चित कविता लेखेका छन् । उनको स्मृतिमा बनाइएको आयातकर ढुङ्गाको स्तम्भमा एकातिर जापानी र अर्कोपट्टि अङ्ग्रेजीमा मन छुने कविता लेखिएको थियो । त्यहीँ उभिएर धेरै पहिले पढिसकेको कविता दोहोर्याएर पढ्न थालेँ ।

मेरो बुबा फिर्ता देऊ, मेरी आमा फिर्ता देऊ
मेरो हजुरबुबा फिर्ता देऊ, मेरी हजुरआमा फिर्ता देऊ
मेरा छोरा र छोरी फिर्ता देऊ
म आफैलाई पनि फिर्ता देऊ
मानव जाति फिर्ता देऊ
जबसम्म जीवन रहिरहन्छ, यो जीवन
शान्ति फिर्ता देऊ
त्यो कहिलै समाप्त हुने छैन ।

शान्तिको माग गर्दै युद्धका नाममा आफन्त गुमाएकाहरूको पीडामा लेखिएको मार्मिक कविताले मुटु हल्लायो । नयन ताल छचल्कियो । आफूलाई सम्हालेँ । मनमनै उक्त कविताका अंश गुनगुनाउँदै हिँड्दा अखण्ड दीप प्रज्वलित भएको ठाउँमा पुगिसकेको थिएँ ।

अखण्ड दीपलाई साक्षात् अग्निदेवको रूपमा देखेँ । ती अग्निदेवलाई नमस्कार गरेँ । त्यस दीपलाई निकै बेर हेरेँ । हेर्दै जाँदा निरन्तर एकनासको उज्यालोमा बलिरहेको दीपको भीष्मप्रतिज्ञा थाहा पाएँ । संसारलाई जबसम्म आणविक हतियारबाट मुक्त बनाइँदैन तबसम्म प्रज्वलित भइरहने प्रतिबद्धता लिएको दीपले शान्तिको आशा छरिरहेको अनुभूति गरेँ । आफ्नो माग पूरा नहुन्जेल अनसनमा बसेजस्तो देखेँ । विश्वशान्ति र मानवताको पक्षधर अखण्ड दीपको प्रतिबद्धतालाई समर्थन जनाउँदै अगि बढेँ ।

आणविक बमबाट मृत्यु भएका तर पहिचान नखुलेकाहरूका नाममा स्थापना गरिएको स्मारकका अगाडि हामी पुगिसकेका थियौँ । तिनको शोकमा स्मारक उदास देखिन्थ्यो । हुन त हिरोसिमा पुगेदेखि नै मनमा उदासी भरिएको थियो । मन उदास भए पनि त्यस स्मारकलाई दुई हात जोडेर नमस्कार गरेँ । एकछिन आँखा चिम्लिएर मनदेखि नै पहिचान नखुलेका आत्माको मुक्तिको कामना गर्दै हृदयबाट श्रद्धासुमन अर्पण गरेँ ।

त्यस स्मारकको बनावटले धेरै कुरा बताइरहेको थियो । झट्ट हेर्दा त्यो कुनै अस्थायी सेल्टरजस्तै देखिन्थ्यो । घाइतेहरूलाई आश्रय दिएको सेल्टर देखाउने हिसाबले बनाइएको झन्डै त्यस्तै आकारको कलात्मक स्मारकमा एकैछिन मेरो मनले पनि आश्रय लियो । मनले आराम र सुरक्षित महसुस ग¥यो । केही समयपछि शान्तिपार्कको अर्को कुनातिर भारी पाइला चल्न थाले ।

शान्तिपार्कको अर्कोक्षेउमा आणविक आक्रमणमा परेर मारिएका तर पहिचान खुल्न नसकेका मानिसका खरानी राखेर तिनको स्मृतिमा बनाइएको ढिस्कोअगाडि पुग्दा झस्केँ । समतल मैदानमा उठेको त्यत्रो अग्लो ढिस्को सबै मृतककै खरानीको थुप्रो त होइन ? त्यसै डराएँ । ढिस्को देखेर मनमा पीडाको ठुलो ढिस्को उठ्यो । जिग्रिङ्ग झार पलाएको उक्त ढिस्कोले हिरोसिमाको पीडामा शोक मनाइरहेको देखेँ । ढिस्कोभित्र रहेका मृतकका खरानीले युद्ध पिपाशुहरूलाई भतभती पोलोस् भन्दै अगि बढेँ ।

चारवटा गोलाकार सिमेन्टको पिलरमाथि अर्ध गोलाकार सिमेन्टको छानो लगाइएको स्तम्भले देख्नेबित्तिकै मलाई आकर्षित ग¥यो । त्यस स्तम्भभित्र एउटा घन्टी पनि झुन्ड्याइएको थियो । प्रतीकात्मक रूपमा सिमानाविहीन राष्ट्रहरूको कल्पना गर्दै एकीकृत संसार देखाउने हिसाबले बनाइएको उक्त स्तम्भ गर्व साथ उभिएको थियो । आणविक हतियार हटाउन र विश्वमा शान्ति ल्याउन स्थापना गरिएको शान्तिको घन्टीलाई बजाउन नपाए पनि वरै उभिएर मनभित्रको घन्टी बजाएँ । त्यहीँबाट विश्वशान्तिको लागि प्रार्थना गरेँ । त्यसपछि अर्को स्मारकतिर गोडा लम्किए ।

बालबालिकाको नाममा स्थापित शान्तिस्मारकको अगाडि पुग्दा मनमा बिरक्ति थपियो । दिक्दारी र बेचैनीको बोझले थिचिएँ । त्यहाँ एउटी बालिकाले तारले बनेको सारस दुई हातले माथि उठाएको मूर्ति थियो । मूर्तिका रूपमा रहेकी बालिका वास्तवमा सादाको सासाकी हुन् । सादाको सासाकीलगायत आणविक बम आक्रमणमा निधन भएका बालबालिकाको स्मृतिमा बनाइएको उक्त स्मारकले मन दुख्ने कथा बोलिरहेको थियो । मैले सुनिरहेँ ।

हिरोसिमामा आणविक बम आक्रमण हुँदा सादाको दुई वर्षकी थिइन् । स्वस्थ रूपमा हुर्किरहेकी सादाकोलाई नौ वर्षपछि ल्युकोमिया भयो । दिनप्रतिदिन उनी कमजोर हुँदै जाँदा मृत्युको नजिक पुगिन् । जापानी भाषाको ‘ओरिगामी’ अर्थात् कागजलाई पट्याएर एक हजारवटा सारस बनाउन सके उनी बाँच्नेछिन् भन्ने विश्वासले उनलाई कागजको सारस बनाउन लगाइयो । तर, उनले त्यो सङ्ख्या पूरा नगर्दै विषालु विकिरणको तीव्र असरका कारण निधन भयो । मेरो बालक मन चस्स दुख्यो ।

कागजको एक हजार सारस बनाउन सकेका आफ्नो मनोकाङ्क्षा पूरा हुने कुरामा अझै पनि जापानीहरू विश्वास गर्दछन् । आजभोलि संसारभरका बालबालिका त्यहाँ कागजको सारस अपर्ण गर्न आउँछन् । रङ्गीचङ्गी कागजका सारस वरिपरि झुन्ड्याएको ठाउँमा सादाको सासाकीलाई जीवित देखेँ । अर्को पटक आएँ भने म पनि कागजको सारस अर्पण गरुँला भन्दै त्यहाँबाट निस्किएँ ।

शान्तिस्मृति हलको अगाडि पुगेर अलिकति शान्तिको सास फेरेँ । यसो ध्यान दिएर हेर्दछु, त्यो हल त घडीको सुइले ठ्याक्कै आठ बजेर पन्ध्र मिनेट गएको ढाँचामा बनाइएको रहेछ । त्यो ८ः१५ को क्रूर समय फेरि नदोहरियोस् भन्ने कामना गरेँ । त्यस हलभित्र त्रासदीका फोटा, आणविक बमको आक्रमणका बारेमा लेखिएका पुस्तक र भिडियोहरू राखिएका छन् । त्यहाँ आणविक बम आक्रमणबाट बाँचेकाहरूको दुःखका कथाव्यथा छन् । उस्तै खाले पीडा दोहो¥याएर हेर्न मनले मानेन । र, पाइला मोडिए ‘एटोमिक बम डोमतिर’ ।

आणविक बमले पूरै क्षति गराउन नसकेको ‘एटोमिक बम डोम’को सामुन्ने उभिँदा भाउन्न भएर आयो । म्युजियमका हृदय विदारक तस्बिर तथा भिडियो र शान्तिपार्कमा राखिएका बम आक्रमणको पीडालाई स्मरण गराउने स्मारकको अवलोकनका कारण मेरो टाउको फुट्न लागेको आणविक बमजस्तै भएको थियो । बम आक्रमणको बीभत्सताका ससाना झलक हेर्दाहेर्दै मन घाइते भइसकेको थियो । आणविक बमले क्षति पु¥याएको इँटाले बनेको तीनतले भवन देख्दा घाइते मन तुरुन्त खण्डहर पो बन्यो !

‘मोतोयासु–गावा’ नदीको किनारामा अवस्थित उक्त क्षतिग्रस्त भवन आणविक बमको साक्षी थियो । त्यस नदीमा कैयौँ पानीका लहरहरू बगेर गए । निर्दोष मानिसको रगत र आँसु मिसिएको त्यस नदीको पानीमा मानिसका पीडा अझै बगिरहेका छन् । त्यस भवनको घाइते रूप देख्दा शान्तिप्रिय मानिसको सग्लो मन पनि घाइते हुँदो रहेछ ।

हिरोसिमा आक्रमणको बेला अठार वर्ष उमेरका एक जना प्रत्यक्षदर्शी सुसुमु हुमागुचीले भनेको सम्झन्छु । उनले भनेका थिए– ‘लगभग नाङ्गा लासहरू एकमाथि अर्को खप्टिएर पानीमा तैरिरहेका थिए । पानीको प्रवाहसँगै ती लासहरू बगिरहेका थिए ।’

हिरोसिमाका मोतोयासु गावालगायतका नदीले खप्नुसम्मको पीडा खपेछन् । बग्नुको धर्म निर्वाह गर्ने नदीले लास बोकेर बगेछन् । उफ् ! लासको नदी । नदीकिनारमा उभिएर बगेको लास सम्झँदा आँखामा अनौँठा दृश्यले त्रास मच्चाउन थाले ।

आणविक बमले अर्ध क्षति पु¥याएको भवनलाई न त पुनर्निर्माण गरेर नयाँ बनाइयो न त भत्काइयो । बमले जेजति क्षति पु¥याएको थियो सोही अवस्थामा जस्ताको तस्तै सुरक्षा दिएर राखिएको छ । त्यो घाइते भवनले धेरै कुरा बोलिरहेको थियो ।

वास्तवमा त्यस भवनको एक सय साठी मिटरपर बम विष्फोट भएको थियो । त्यसको कारण हिरोसिमा सहर नब्बे प्रतिशत ध्वस्त भएको थियो । तीन किलोमिटर वर्गक्षेत्रका भवनहरू ढलेर धुलाम्य भएका थिए । अचम्म, ‘एटोमिक बम डोम’ नाम दिइएको उक्त भवनचाहिँ आधि मात्रै भत्किएछ ! त्यो शक्तिशाली भवनले ‘लिटिल ब्वाय’ नामक संहारकारी बमलाई गिज्याइरहेको पो देखेँ ।

क्षतिग्रस्त एटोमिक बम डोमलाई शान्तिस्मारकका रूपमा संरक्षण गरी विश्वमा शान्ति स्थापनाका लागि आह्वान गर्ने स्थलको रूपमा लिइएको छ । बमले क्षति पु¥याएको कुरूप अनुहार बोकेर पनि संसारभरका मानिसको आकर्षणस्थल बनेको छ । त्यस भवनको तस्बिर देख्नेबित्तिकै हिरोसिमाको त्रासदी आउने गरी संसारभर परिचित बनेको छ । मनको क्यामेराले असङ्ख्य फोटो खिच्यो ।

त्यहाँ मानिस प्रवेश नगरुन् भनेर फलामे बार लगाइएको छ । बाहिरबाट मजाले देख्न सकिने उक्त भवनलाई युनेस्कोले विश्व सम्पदासूचीमा राखेको छ । त्यसलाई चारैतिरबाट हेरेँ । आणविक बमले बनाएको घाउलाई नजिकबाट नियालेँ । पहिलेदेखि नै मन उदास थियो । फेरि थपियो उदासीको अर्को खात ।

दुःखी मन लिएर घुमिरहेका हामी त्यस भवनअगाडि एकछिन भए पनि खुसी हुन लहरै उभियौँ । बालसाहित्यकार विजयराज आचार्यको ‘आकाश ओड्ने जिन्दगी’ बालकथासङ्ग्रह संयुक्त रूपमा त्यहीँ विमोचन ग¥र्यौँ । नेपाली साहित्यको पुस्तक हिरोसिमामा यसरी विमोचन भएको पहिलो सुखद क्षणमा सहभागी हुन पाउँदा प्रफुल्ल भएँ ।

पुस्तक विमोचनपश्चात् हामी सबैले विजयलाई बधाई दियौँ । तर, खुसी हुनुपर्नेमा उनी गम्भीर देखिए । उनको परिवर्तन मेरा लागि अनौठो थियो । पछि बुझ्दा त्यो पुस्तक लेखनसँग उनको पिडादायी विगत जोडिएको रहेछ । सोही कुराको स्मरणले उनी गम्भीर बनेका रहेछन् । उक्त बालकथासङ्ग्रह वि.सं २०७२ सालमा आएको महाभूकम्पको बेलामा आफ्नो घर ध्वस्त भएर त्रिपालमा रात बिताएको अवस्थामा लेखेका रहेछन् । सङग्रहका कथा पनि प्राकृतिक विपत्ति र त्यसले दिएको पीडाका बारेमा नै थियो ।

क्षतिग्रस्त एटोमिक बम डोमतिर हेर्दै विजयले भने– ‘प्राकृतिक क्रूरताभन्दा मानवको क्रूरता बढी खतरनाक हुँदो रहेछ ।’

उनको कुराले एकछिन सन्नाटा छायो ।

‘नेपालमा युद्ध र द्वन्द्वबाट कुनै पाठ सिकेको छैन । देशनिर्माणका लागि लाग्नुपर्नेमा अलमलिरहेका छौँ ।’ संयुक्त राष्ट्रसङ्घमार्फत शान्ति स्थापनार्थ द्वन्द्व र युद्धग्रस्त देशमा केही समय काम गरेर फर्केका ससस्त्र प्रहरी बलका डिएसपी किरण पौडेलले हिँड्दै गर्दा आफ्नो अनुभव सुनाए ।

वास्तवमा विध्वंशपछिको समय भनेको सम्झना मात्रै त हो नि । त्यो पीडादायी सम्झनालाई बिर्साउन जापानीहरूले अकल्पनीय विकास गरेका छन् । युद्धबाट पाठ सिकेर घर, विद्यालय, बाटो, पुल दु्रतगतिमा निर्माण गर्दै देश बनाउने कार्यमा उनीहरू लागे । जापानी जनताको जीवनस्तर माथि उठाए । पुनर्निर्माण पश्चात् हिरोसिमा औद्योगिक सहरमा रूपान्तरण भएको छ । जापानीले गरेको विकास अद्भुत छ । मेरा आँखाले देखेको, समाचारमा पढेको र टिभीमा देखेको हिरोसिमाको विकासमा कुनै अन्तर पाइनँ ।

हिरोसिमामा आणविक आक्रमणका कारण धेरै जापानीहरू युद्धविरोधी भएका छन् । हरेक वर्ष मनाइने हिरोसिमा दिवसले संसारलाई युद्धको विरोधमा एकीकृत हुन आह्वान गर्दछ । युद्ध रोक्नका लागि चेतावनी दिन्छ । आणविक शस्त्र निर्माण र आणविक बम परीक्षणको खबरदारी गर्दछ ।

यसरी खबरदारी गर्ने काममा सुतोमा यामागुची नामका जापानी नागरिक पनि लागेका थिए । उनी यस्ता भाग्यमानी हुन् जो हिरोसिमा र नागासाकीको आणविक बम आक्रमणबाट बाँचेका थिए । उनी बाँचेको कथा थाहा पाउँदा चकित भएँ ।

कामको सिलसिलामा हिरोसिमा रहेको बेला बम आक्रमण हुँदा सुतोमा यामागुची बाँचेछन् । फेरि बम आक्रमण हुन सक्ने डरले तत्कालै आफ्नो गाउँ नागासाकी गए । तीन दिनपछि नागासाकीमा अर्को आणविक बम आक्रमण हुँदा फेरि पनि बाँचेछन् । सुन्दा पनि पत्यार नलाग्ने मृत्युलाई पटक पटक जितेका ती व्यक्तिले केही वर्षअगि ९३ वर्षको उमेरमा देहत्याग गरे । जापान सरकारले उनलाई दुवै ठाउँमा भएको आणविक बम आक्रमणबाट बाँचेको व्यक्ति भनेर प्रमाणित गरेको थियो । कालको मुखमा पुगेर पनि त्यति लामो समय बाँचेका सुतोमा यामागुचीमा कुन शक्ति थियो होला भनेर थाहा पाउने चौचौ बढेको छ ।

वास्तवमा जापान सरकारले उनलाई विश्वभ्रमण गराउनु पर्दथ्यो । आणविक बम आक्रमणको त्रासदी संसारभर सुनाउनु पर्दथ्यो । जापान सरकारले किन यो काम गरेन भनेर खुलदुली लागिरहेको छ ।

अधिकांश जापानीहरू विश्वयुद्धको अन्त्य आणविक बमले गराएको कुरा मान्दा रहेछन् । मलाई लागेको थियो जापानीहरू अमेरिकालाई उत्पातै घृणा गर्दा हुन् । तर, अमेरिकाले बम आक्रमण गरेर ध्वस्त बनाए पनि उसैको सहयोगले देश निर्माण भएको कुरा भन्दा रहेछन् । वास्तवमा युद्धको पीडा र दुस्मनीलाई बिर्सँदै अमेरिकाकै सहयोगमा जापानीहरूले विकास गरेका रहेछन् ।

पूर्व शिक्षिका तथा मेरी जापानी साथी योसिमी ओवाले एक पटक मलाई भनेको कुरा सम्झन्छु– ‘जापान अमेरिकासँग धेरै कुरामा निर्भर छ । जापान अमेरिकाको एकान्नौँ राज्य हो । अमेरिकालाई रुघा लाग्यो भने जापानलाई निमोनिया हुन्छ ।’

ठट्टाजस्तो लाग्ने उनको भनाइले अमेरिकासँग जापानको निर्भरता बताउँदथ्यो । सायद यही कारणले होला अमेरिकाप्रति जापानीहरूको उस्तो घृणा र विरोध मैले थाहा पाइनँ ।

आणविक ऊर्जाबाट ध्वस्त भएको हिरोसिमा सहर आणविक ऊर्जाले नै झिलिमिली भएको तथ्यले चाहिँ मलाई अलमल्ल पा¥यो । हिरोसिमाका उद्योगहरू आणविक ऊर्जाबाट उत्पादित बिजुलीमा निर्भर छन् । हिरोसिमाको भ्रमणले ‘आणविक’ शब्द सुन्नेबित्तिकै बम सम्झिहाल्नु हुन्न भन्ने कुराको ज्ञान दिलाउँछ । विज्ञानले विकास र विनाश दुवै गर्न सक्दछ । विकास वा विनाश के गर्ने भन्ने कुरा मानिसको विवेकमा भर पर्ने कुरा हो । विवेकहीन र सनकी शासककै हातमा रहेछ मानव जातिको ज्यान । अचानक आफूलाई पराश्रित रूपमा पाएँ ।

आधा दिन लगाएर हामीले शान्ति म्युजियम, शान्तिपार्क, शान्तिस्तूप, शान्तिदीप, शान्तिघन्टी, शान्तिघडी आदि सबै घुमिसकेका थियौँ । तर, हाम्रो मन उदास, बेचैन र अशान्त थियो । चसक्क बिझिरहेको थियो मनभित्र हिरोसिमाको पीडा । यसो हेर्दछु, सहयात्रीका ओठ निःशब्द देखिए । भक्कानिएको अशान्त मन लिएर हामी सबै जना क्योटो सहरको यात्राका लागि गाडीमा बस्यौँ । गाडी दौडिन थाल्यो ।

(७५ वर्षअघि आजकै दिन सन् १९४५ अगष्ट ६ का दिन हिरोसिमामा संसारको पहिलो आणविक बम खसाइएको थियो ।)