सस्कार मन्थन

कस्तो भोजन कसरी खाने ?

कस्तो भोजन कसरी खाने ?

हामीले खाना त खान्छौँ तर कस्तो खाना कसरी खाने ? भन्ने बारेमा ध्यान दिन खोज्दैनौँ । जसका कारण हामी प्रत्यक्ष रूपमा अस्वस्थ हुन्छौँ भने अप्रत्यक्ष रूपमा हाम्रो बौद्धिक क्षमतामा समेत क्रमशः ह्रास आउँदै जान्छ ।

पहिलाभन्दा हाम्रो भोजनालयमा खानाका धेरै प्रकारहरू त थपिँदै गए तर तिनले हामीलाई शौचालयमा र औषधालयमा धेरै समय प्रतीक्षा गरेर बस्न बाध्य बनाए । यसै सन्दर्भमा हाम्रा ऋषिमुनिहरूले कस्तो भोजन कसरी ग्रहण गर्नुपर्छ भन्ने बारेमा बताएका केही कुराहरूले हामीलाई स्वस्थ र मेधावी बनाउन केही न केही मात्रामा सहयोग पुर्‍याउलान् भन्ने विषयमा हाम्रो ध्यान आकृष्ट हुनु जरुरी छ ।

भोजनको किन निन्दा नगर्ने ?

भोजन गर्नुभन्दा पहिला हामीले सदैव स्नान, सन्ध्या र सूर्यलाई अर्ध्य दिनुपर्छ । घरमा शुद्धसँग पकाएको भोजन भगवानलाई अर्पण गरेर मात्र खानुपर्छ । खाना खानुभन्दा पहिला दुवै हात, दुवै खुट्टा र मुख राम्रोसँग धोएर अत्यन्त सावधान भई भोजन गर्नुपर्छ । आफूले खाने भोजनको सधैँ प्रशंसा गर्नुपर्छ र खाँदै गरेको भोजनलाई यस्तो उस्तो भनेर कहिल्यै पनि निन्दा गर्नु हुँदैन ।

आफूले खान लागेको भोजन देखेर हर्षित भई त्यसको अभिनन्दन गर्नुपर्छ । निन्दा गरेर खाएको भोजनले हामीलाई स्वस्थ बनाउँदैन । अत्यन्त प्रशंसा र अभिनन्दनका साथ गरिएको भोजनले हामीलाई समर्थशाली र पराक्रमी बनाउँछ भने निन्दा गर्दै गरिएको भोजनले हामीलाई ती दुवै कुराबाट वञ्चित गराउँछ (मनुस्मृति २।५५) ।

अति भोजन गर्नाले स्वास्थ्य, आयु, स्वर्ग एवं पुण्य पनि प्राप्त नहुने र लोकले समेत निन्दा गर्ने भएका कारण अति भोजन गर्नबाट आफूलाई सदैव बचाउनुपर्छ । ‘अन्नं ब्रह्मा रसो विष्णुर्भोक्ता देवो महेश्वरः’ अर्थात् अन्न ब्रह्मा हो, रस विष्णु हो र खाने व्यक्ति महेश्वर हुन् भन्ने ठानेर भोजन गर्नुपर्छ किनभने अन्नमा सृजनशक्ति विद्यमान छ, रसमा अन्नको रक्षातत्त्व निहित छ र त्यसलाई पचाउन मृत्युञ्जयको अस्तित्व रहेको छ । सृजनशक्ति र रक्षातत्त्वलाई ख्याल गर्न सकिएन भने मृत्युञ्जयको अस्तित्वलाई प्राप्त गर्न सकिँदैन ।

भोजनलाई किन ईश्वरीय उपासनाजस्तै ठान्ने ?
वास्तवमा हामीले केवल पेट भर्नका लागि खाँदैनौँ । सम्पूर्ण खाद्य पदार्थलाई ब्रह्म अर्थात् ईश्वरीय सृष्टि ठानेर भोजन गर्नु राम्रो हुन्छ । भोजन गर्नु पनि एक प्रकारको ईश्वरीय उपासना हो भनेर मनन गर्न सक्यौँ भने हाम्रो मनमा अपवित्र भावनाको उदय नै हुन पाउँदैन । मन पवित्र बनाएर गरिएको भोजनले हाम्रो शरीरलाई र विचारलाई पनि स्वस्थ बनाउँछ ।

जब हामीले भोजन गर्नुलाई ईश्वरीय उपासनाजस्तै पवित्र भावनासँग साक्षात्कार गर्न थाल्छौँ तब हामीले भोजन गर्नुभन्दा पहिला किन नुहाउनुपर्दो रहेछ, भोजन गर्दा किन जुत्ताचप्पल अनि शरीरका अपवित्र र कसिला लुगाहरू छोडाई धोतीजस्ता पवित्र र हलुका लुगाहरू लगाएर भोजन गर्नुपर्दो रहेछ, कुर्सी–टेबलमा नबसी किन पिर्कामा आरामसाथ बसेर भोजन गर्नुपर्दो रहेछ, सार्वजनिक होटलहरूमा होइन किन घरायसी खानामै जोड दिनुपर्दो रहेछ ? इत्यादि जिज्ञासाहरूको समाधान गर्न हामी आफै समर्थ हुनेछौँ । ईश्वरीय उपासनाजस्तै ठानेर गरिएको भोजनले हामीलाई स्वस्थ मात्र बनाउँदैन दीर्घजीवी बनाउन पनि सघाउँछ ।

किन सबैलाई खुवाएर खाने ?

हाम्रा पूर्वजहरूले हामीलाई प्रत्येक दिन ‘बलि–वैश्वदेव’ गरेर मात्र भोजन गर्न निर्देश गरेका थिए किनभने त्यतिबेला गृहस्थ व्यक्तिकहाँ चूलामा आगो बाल्दा, ढिकी, जाँतो र नाङ्लामा अन्नलाई कुट्ता, पिस्ता र निफन्दा अनि झाडु लगाउँदा पाँच प्रकारका जीवहरूको हत्या हुने गर्दथ्यो । तिनको हत्याको प्रायश्चित्त स्वरूप प्रत्येक गृहस्थीले ब्रह्मयज्ञ, पितृयज्ञ, देवयज्ञ, भूतयज्ञ र अतिथियज्ञ पाँच प्रकारका महायज्ञ गर्न शास्त्रले निर्देश गरेको हो । वेद आदि शास्त्रहरू पढ्नु र पढाउनुलाई ‘ब्रह्मयज्ञ’ भनिन्छ भने पितृहरूलाई तर्पण दिनुलाई ‘पितृयज्ञ’ भनिन्छ ।

हवन गर्नुलाई ‘देवयज्ञ’, बलिवैश्वदेव गर्नु वा गाई, कुकुर, काग आदिलाई पात वा पृथ्वीमा भोज्य सामग्री उपलब्ध गराउनुलाई ‘भूतयज्ञ’ र पाहुनाहरूलाई सत्कारसाथ भोजन गराउनुलाई ‘अतिथियज्ञ’ भनिन्छ ।

पढेलेखेका विद्वान् अतिथिदेखि लिएर घरको वरपर रहेका समस्त कीटपतङ्गहरूलाई भोजन अर्पण गरेर बचेको भोजन नै गृहस्थ दम्पतीका लागि ग्राह्य हुन्छ । सबैलाई खुवाएर बचेको भोजनलाई विघस भनिन्छ र त्यस्तो भोजन अमृतसमान मानिन्छ । यदि बलिवैश्वदेव गर्ने पनि सामर्थ्य र फुर्सद छैन भने ‘त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पये’ अर्थात् हे भगवान् ! तपाईंको कृपाद्वारा प्राप्त भएको यो भोजन तपाईंलाई नै समर्पण गर्दछु भनी भगवान्लाई भोग लगाएर भोजन गर्न सकिन्छ ।

भोजन गर्दा केकस्ता नियमहरूको पालना गर्ने ?
भोजन गर्न बसेपछि सत्यद्वारा तिमीलाई सेचन गर्दछु भन्ने कामनाका साथ भोज्य सामग्रीको वरिपरि जलको घेरा बनाइन्छ । पृथ्वी, चौध भुवन र सम्पूर्ण प्राणीहरूको तृप्तिका लागि भनेर जलको आसन दिई तीनपटक भोज्य पदार्थ चढाइन्छ । त्यसपछि अमृतरूपी जलको आसन दिन्छु भन्ने कामनाका साथ जल आचमन गरेर मौन रही आफैभित्र रहेका प्राण, अपान, व्यान, उदान र समान पाँच प्राणहरूलाई आहुतिस्वरूप पाँच गाँस चढाएपछि वा खाएपछि भोजन गर्न प्रारम्भ गर्नुपर्छ । भोजन गर्दा शिर खुला राख्नु राम्रो मानिन्छ किनभने शिरमा टोपी आदि लगाएर भोजन गर्दा बुद्धिमा नकारात्मक प्रभाव पर्छ ।

‘न भिन्नभाण्डं भुञ्जीत’ (मनुस्मृति ४।६५) अर्थात् टुटेफुटेका भाँडाहरूमा खान हुँदैन किनभने त्यस्ता भाँडाले हातमा घाउ बनाइदिन सक्छन् । कुर्सीमा भन्दा पिर्कामा आरामसाथ बसेर भोजन गर्नुपर्छ किनभने पिर्कामा बसेर भोजन गर्दा पाचनप्रणालीमा राम्रो प्रभाव पर्दछ । तामाका भाँडामा खाना खान हुँदैन किनभने तामाका भाँडामा राखिएको पानी स्वस्थकर मानिए पनि त्यसबाहेक अन्य खानेकुराहरू तत्काल विकृत हुने भएकाले भोजनका सन्दर्भमा तामाका भाँडालाई अनुपयुक्त ठानिएको हो ।

हातमा राखेर अनि थाल उचालेर पनि खान हुँदैन किनभने त्यसरी खाँदा मलद्वारका लागि उपयोग गरिने देब्रे हातको समेत प्रयोग गर्नुपर्ने हुन्छ । शास्त्रीय दृष्टिले र स्वास्थ्यका दृष्टिले समेत नाभिभन्दा माथिल्ला अङ्गका लागि दाहिने हात र नाभिभन्दा तलका अङ्गका लागि देब्रे हातको प्रयोग गर्न उपयुक्त मानिएका कारण भोजन गर्दा देब्रे हातको प्रयोगलाई अशुभ मानिएको हो ।

जुत्ता र चप्पलले जस्तोसुकै दुर्गन्धित वस्तु पनि कुल्चिने भएकाले दुर्गन्धित वस्तुको सङ्क्रमणबाट बच्नका लागि भोजन गर्दा जुत्ता र चप्पल लगाउन निषेध गरिएको हो । त्यस्तै ग्रहण लागेका बेलामा मान्छेको पाचनशक्ति कमजोर हुने र त्यतिबेला भोजन गर्दा सूक्ष्म कीटाणुहरू पेटमा जाने सम्भावना रहेका कारण ग्रहण लागेका बेलामा भोजन गर्न हुँदैन भनिएको हो ।

सलादका रूपमा सिङ्गै गाँजर, मूला आदि टोकेर खानुभन्दा दाँतको सुरक्षाका लागि त्यस्ता चीजलाई टुक्रा पारेर खानु राम्रो हुन्छ । तुलसीको पातमा विद्युत् शक्ति र प्राणशक्ति सबैभन्दा बढ्ता हुने भएकाले प्रदूषणबाट बच्नका लागि खाद्य पदार्थ र पेय पदार्थमा समेत तुलसीको पात राखेर खानु राम्रो मानिन्छ । भोजन गर्दा मुख्यतः भोजनलाई ईश्वरीय उपासनाजस्तै ठान्ने, अभक्ष्य भक्षणबाट टाढै रहने, दृष्टिदोषबाट बच्नका लागि विशेष ध्यान दिने र भगवानलाई अर्पण गरेर प्रसादका रूपमा भोजनलाई ग्रहण गर्नाले हामी शारीरिक रूपमा र मानसिक रूपमा समेत स्वस्थ हुन्छौँ र हाम्रो आयु पनि बढ्छ ।

आयुष्यं प्राङ्मुखो भुङ्क्ते यशस्यं दक्षिणामुखः ।
श्रियं प्रत्यङ्मुखो भुङ्क्ते ऋतं भुङ्क्ते ह्युदङ्मुखः ।।
(मनुस्मृति २।५२)

अर्थात् दीर्घायुको चाहना राख्नेले पूर्व दिशातिर, कीर्ति चाहनेले दक्षिण दिशातर्फ, धनको कामना गर्नेले पश्चिम दिशातिर र सत्यको चाहना राख्नेले उत्तर दिशातर्फ फर्केर भोजन गर्नुपर्छ ।

धेरै बेर चबाएर भोजन गरियो भने त्यसलाई पचाउन धेरै समय लाग्दैन र शौचालयमा धेरै समयसम्म बस्न पनि पर्दैन तर हामीले हतार गरेर भोजन गर्‍यौँ भने हामी शौचालयमा धेरै बेरसम्म प्रतीक्षामा बसिरहनुपर्छ । त्यसैले हिन्दीमा ‘दो मिनेट खाना बीस मिनेट पैखाना, बीस मिनेट खाना दो मिनेट पैखाना’ भन्ने भनाइ प्रचलनमा आएको हो । खाँदा जति धेरै चबाइन्छ त्यति धेरै र्‍याल आउँछ र त्यसले भोजनलाई पचाउन निकै मद्दत गर्दछ ।

हामीले दाँतलाई धेरै चबाउने समय दिन सकेनौँ अनि जिभ्रालाई पनि पूर्णतः रसको आस्वादन गरिरहन दिएनौँ र हतारसाथ खाना निल्ने प्रयास गर्‍यौँ भने पाचनप्रणालीले हाम्रो भोजनलाई राम्रोसँग पचाउन सक्तैन । फलस्वरूप हामी कब्जियतको सिकार हुन्छौँ र कब्जियतकै कारणले गर्दा हामीलाई अनेकौँ किसिमका रोगहरूले आक्रमण गर्दै जान्छन् ।

भोजनपश्चात् के गर्ने ?
भोजन गर्नुभन्दा अघि र भोजन गरेपछि पनि दुवै हात, दुवै खुट्टा, मुख र आँखालाई समेत चिसो बनाउनु राम्रो मानिन्छ । भोजनपश्चात् भोजन राम्रोसँग पच्न सकोस् भन्ने कामना गरी बायाँ हात पेटमा राखेर दायाँबाट हात घुमाउँदै अगस्त्य, कुम्भकर्ण, शनि, बडवानल र भीमसेनको स्मरण गर्ने शास्त्रीय विधान छ ।

‘भोजनान्ते शतपदं गच्छेत्’ अर्थात् खाना खाएर सय पाइला हिँड्नुपर्छ किनभने यसो गर्नाले भोजन पचाउन मद्दत मिल्छ । भोजन गरेपछि बस्नाले शरीरको तौल बढ्दै जान्छ भने तत्काल सुत्दा भोजन नपच्ने भएकाले अनेकौँ रोगहरू उत्पन्न हुन्छन् । भोजनपश्चात् बिस्तारै हिँडडुल गर्नाले आयु बढ्छ भने दौडँदा मृत्युको मुखमा पुग्ने खतरा हुन्छ । केही बेर हिँडडुल गरेपछि बायाँ कोखो तलतिर पारेर विश्राम गर्नाले दायाँतर्फ जठराग्नि प्रदीप्त भई पाचन प्रणालीमा सकारात्मक प्रभाव पर्दछ ।

उपसंहार
‘नान्तरा भोजनं कुर्यात्’ भन्दै हाम्रा ऋषिमुनिहरूले दिनमा दुईपटकभन्दा बढ्ता भोजन गर्न निषेध गरेका थिए तर हामीलाई बिहान खाना खानुअघि र दिउँसो पनि नास्ता खाने बानी परेको छ ।

दिनमा चारपटक खाएपछि र घरायसीभन्दा बाह्य खाद्य पदार्थमा हाम्रो बढ्ता ध्यान जान थालेपछि हाम्रो पाचन प्रणालीले त्यसलाई राम्रोसँग पचाउन नसक्ने कुरा सुनिश्चित छ । जबसम्म हामी भोजनका बारेमा अत्यन्त सचेत हुँदैनौँ र संयम अपनाउन सक्तैनौँ तबसम्म हामी शारीरिक र मानसिक रूपमा समेत अस्वस्थ नै रहिरहन्छौँ । तसर्थ बारम्बार औषधालयमा धाइरहनुपर्ने सम्भावित बाध्यतालाई मलजल गर्न छाडेर हाम्रो चिन्तन भोजनालयलाई स्वच्छ र स्वस्थ बनाउने दिशातर्फ अग्रसर हुनु आवश्यक देखिन्छ ।