उत्कृष्ट काम गर्ने व्यवसायीलाई सरकारले सम्मान गर्छ : पर्यटनमन्त्री भट्टराई

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई राष्ट्रिय उत्सवका रुपमा मनाउनुपर्ने बताएका छन् । राष्ट्रिय एकताबिना यो अभियान सफल नहुने भन्दै उनले पर्यटन व्यवसायीलाई भ्रमण वर्षको उद्घाटनका दिन भव्य दीपावली गर्नसमेत आग्रह गरे ।

नेपाल भ्रमण वर्ष सचिवालयले पर्यटन व्यवसायीहरुसँग भ्रमण वर्ष–२०२० का विषयमा छलफल आयोजना गरेको थियो । त्यसमा व्यवसायीले पर्यटन क्षेत्रका विभिन्न गुनासो र माग प्रस्तुत गरेका थिए ।

तर, मन्त्री भट्टराईले भने व्यवसायीलाई सरकारसँग माग राख्न छोडेर सहयोग र सहयात्रामा जुट्न आह्वान गरे । उनले नेपाल भ्रमण वर्ष २०२० मा उत्कृष्ट काम गर्ने व्यवसायीलाई सरकारले सम्मान गर्ने जानकारी दिए ।